नेकपा एकीकृत समाजवादी पार्टीका नेता कृष्णकुमार श्रेष्ठ 'किसान'ले तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छाड्न तयार रहेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफैँले पराजित गरेको नेतालाई निर्वाचन क्षेत्र छाड्न तयार रहेको बताएका हुन्।
'जसलाई मैले २०७४ साल मंसिर २१ गते मैले पराजित गरेको थिएँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई,' किसानले भने, 'अब उहाँलाई नै छाडेर मधेश प्रदेशको बारा ४ नम्बर क्षेत्रमा चुनाव लड्नपर्ला कि भनेर गठबन्धनका नेताहरूले भन्नुभएको छ।'
उनले आफू मधेश प्रदेशमा गएर निर्वाचन लड्न तयार रहेको बताए। साथै अझैपनि आफू तनहुँ क्षेत्र नं १ मा निर्वाचन लड्न तयार रहेको बताए।
'तनुहँ १ नम्बर क्षेत्रका जनताले एकीकृत समाजवादी र मलाई खोजेको छ,' किसानले भने, 'तर तनहुँ क्षेत्र नं १ का कारण गठबन्धन नै भत्कन्छ समस्या आउँछ भने म पार्टीको इमान्दार सिपाही र पार्टीको निर्णय मान्ने भएकाले मैले नेताहरूलाई अफ्ठ्यारो नपार्ने गरि उपयुक्त ठाउँमा खटाउनुहोस् भनेको छु।'
उनले आफू नेपालको १६५ निर्वाचन क्षेत्र मध्ये कहीँ पनि गएर चुनाव जित्न तयार रहेको बताए।