नेपाल कम्युनिष्ट पार्टी एमाले बुटवल उपमहानगर कमिटी रूपन्देहीले दोहोरिएका मतदाताहरूको नामावली हटाउन माग गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली विवरणमा रूपन्देहीका विभिन्न पालिकाहरूमा मतदाताहरूको नामावली दोहोरिएको भन्दै ती नाम हटाउन एमालेले माग गरेको हो।
एमाले बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैना नगरपालिकामा ठूलो संख्यामा मतदाताको नामावली दोहोरिएको दाबी गरेको छ।
बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले निर्वाचन आयोगले सार्वजनिक गरेको नामावली अनुसार बुटवलमा ८०२, तिलोत्तमामा २९०, सैनामैनामा ३३८ र देवदहमा ९२ जना मतदाताको नामावली दोहोरिएको दाबी गरे।
‘बुटवल, तिलोत्तमा, सैनामैना र देवदहमा मात्रै १५ सय बढीको नामावली दोहोरिएको छ, अन्तरपालिका र अन्तरजिल्लामा समेत धेरै नामावली दोहोरिएका छन्, निर्वाचन कार्यालयले ती नामहरू हटाएरमात्रै नामावली सार्वजनिक गर्नुपर्छ,’ बिहीबार निर्वाचन कार्यालय रूपन्देहीलाई ज्ञापनपत्र बुझाउँदै ज्ञवालीले भने।
ज्ञवालीले निर्वाचनको आधारस्रोत नै त्रुटिपूर्ण भएपछि निष्पक्ष निर्वाचन सम्भव नहुने भन्दै दोहोरिएका र अन्य पालिका र अन्तरपालिकामा रहेका दोहारिएका नाम पहिचान गरी हटाउन निर्वाचन आयोगलाई आग्रह गरे।
ज्ञवालीले कतिपय निधन भएका नागरिकको नाम समेत मतदाता नामावलीबाट नहटाइको बताए।
स्थानीय तहको निर्वाचनमा समेत मृत्यु भएका व्यक्तिहरूको नाममा अरूले मतदान गरेको भेटिएकाले निर्वाचन कार्यालयबाट पालिकाका प्रत्येक वडामा कर्मचारी खटाई त्यस्ता मतदाता नामावली हटाउनुपर्ने ज्ञवालीले बताए।
दोहोरिएका र मृत्यु भएका व्यक्तिहरूको नामावली विवरण ज्ञापनपत्रसँगै संलग्न गरी बुझाइएको कार्यदल संयोजक मेघनाथ भट्टराईले बताए।
ज्ञापनपत्र बुझेपश्चात बोल्दै जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले दोहोरिएका मतदाता नामावलीबारे जन्ममिति र मतदाता नम्बरसहित विवरण उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गरेका थिए।
उनले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर दोहोरिएका तथा मृत्यु भएका मतदाताहरूको नाम हटाउने क्रममा आयोग रहेको बताए।
एमालेले दोहोरिएका तथा मृत्यु भएका मतदाताको नामावली हटाउन रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत ज्ञापनपत्र बुझाएको थियो।