काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमि लगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।
सायमि संयोजक रहेको यो अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह पनि गरेको छ।
आज ललितपुरमा कार्यक्रम गरेर उक्त अभियानले एकै चुनाव चिन्ह र साझा घोषणा पत्रका साथ संयुक्त प्रचारप्रसार गर्ने पनि बताएका छन्। कार्यक्रममा विद्या महर्जन, राजाराम तण्डुकार, मधुसुदन पाठक, भिष्म रानालगायत उपस्थित थिए।
विद्या काठमाडौं ९ बाट उम्मेदवार हुने बताएकी छन्। राजाराम ललितपुर ३, कलाकारसमेत रहेका मधुसुदन काठमाडौं ५ र भिष्म रूपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन्।
स्वतन्त्र उम्मेदवारहरूले पार्टीका पुराना नेताको विकल्प दिन आफूहरूले चाहेको बताइरहेका छन्।
सायमि काठमाडौं महानगरपालिकाको मेयरमा गत वैशाखमा स्वतन्त्र उम्मेदवार भएका थिए। उनी बालेन शाहसँग पराजित भएका थिए।