राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूसँग आज शितल निवासमा छलफल गरेकी छन्।
सोमबार दिउँसो २ बजेदेखि भएको छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे आफूलाई लागेका जिज्ञासा राखेकी थिइन्।
कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की शितल निवास पुगेका थिए।
राष्ट्रपतिले नागरिकता विधेयकबारे चासो र जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले जवाफ दिएका थिए। देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि ल्याएको नागरिकता अध्यादेशलाई अहिलेको सरकारले विधेयकका रूपमा ल्याएको बताएका थिए।
‘अनागरिक भएकाहरूलाई नागरिकता दिन यो विधेयक हामीले ल्याएका हौं। दुवै सदनबाट पारित गरेर यहाँ पठाइएको थियो। फिर्तापछि पनि प्रतिनिधि सभाबाट पारित भइसक्यो। राष्ट्रिय सभामा यो विधेयक पुगेको छ,’ प्रधानमन्त्री देउवाका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीले अध्यादेशमा रूपमा ल्याएकै विषय अहिले विधेयकका रूपमा ल्याएको हो केही फरक छैन।’
राष्ट्रपति भण्डारीले समसामयिक राजनीति र आगामी चुनावबारे पनि जिज्ञासा राखेकी थिइन्। उनले चुनाव निष्पक्ष हुनुपर्ने बताएकी थिइन्। प्रधानमन्त्री देउवाले चुनाव निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका थिए।
राष्ट्रपति भण्डारीले आजै नेकपा एमालेका नेताहरूलाई पनि शितल निवास बोलाएकी छन्। यसअघि भण्डारीले विभिन्न दलका नेताहरू तथा संविधानविदलगायतसँग नागरिकता विधेयकबारे छलफल गरेकी थिइन्।
संघीय संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगे पनि पुनर्विचार गर्न सन्देशसहित राष्ट्रपतिले पुन: संसदमै फिर्ता पठाएकी थिइन्। उक्त विधेयक प्रतिनिधि सभाबाट हुबहु पारित भएको थियो भने राष्ट्रिय सभाले विधायन समितिमा छलफलका लागि पठाएको छ।