पुष्प भुसाल प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित
सत्तारुढ नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा १४८ मत प्राप्त गरी उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभामा तत्काल कायम रहेका २४२ सदस्य संख्या मध्ये १४८ मत भुसालको पक्षमा र ९३ मत मात्रै अर्का प्रतिस्पर्धी विद्या भट्टराईले प्राप्त गरेकी थिइन्।
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सो मत मध्ये गौतमले प्राप्त गरेको मत बहुमत भएकाले उनी उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरिन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो।
‘आजको मतदानमा उपस्थिति माननीय सदस्यहरुको संख्या २४२ रहेको छ। यस सभाका माननीय सदस्य पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा जम्मा १४८ मत आएको छ। प्रस्तावको विपक्षमा वा हुन्न भन्ने पक्षमा जम्मा ९३ मत र प्रस्तावमा मत दिन्न भन्ने पक्षमा १ मत रहेको छ’, सभामुख सापकोटाले भने, ‘यस सभाका माननीय सदस्य पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा १४८ मत परेको र उक्त संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकाले यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने मतदानमा भाग लिएनन्।
उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन्।
कांग्रेसले यसअघि २०७४ सालमा पनि उनलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। तर उनी नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन्।
२०२८ सालदेखि राजनीतिमा सक्रिय पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गरेकी थिइन्।
उनले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रुपमा समेत काम गरेकी थिइन्।
२०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित भइन् भने २०६४ सालको संविधान सभामा अर्घाखाँचीबाट निर्वाचित भएकी थिइन्।
२०७० सालको निर्वाचनमा भने उनी पराजित भएकी थिइन्।
त्यस्तै उनी २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक तर्फको सूचीमा बसेकी थिइन्।
राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न थिइन्। उनले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गरेकी थिइन्।
उनी वरिष्ठ अधिवक्तासमेत हुन्।
२०७४ मा उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन्। त्यसयता उपसभामुख पद रिक्त रहेको थियो।