नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको चुनावपछि गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्ने हो भने आफ्नो समर्थन रहने बताएका छन्।
करिब एक सातादेखि महामन्त्री शर्मा अमेरिकामा छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाले नर्दन क्यालिफोर्नियामा गरेको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्रीमा अब अर्का महामन्त्री थापाले दाबी गरे ५० वर्ष उमेरमुनिकै हुने र आफूले समर्थन गर्ने बताएका थिए।
बिपी कोइराला र शेरबहादुर देउवा पनि ५० वर्षको उमेरकै हाराहारीमा प्रधानमन्त्री भएको बताउँदै शर्माले प्रधानमन्त्रीमा अब थापाले दाबी गर्ने भए आफूले समर्थन गर्ने बताएका हुन्।
‘कांग्रेसबाट बिपी र शेरबहादुर देउवा पनि ५० भन्दा कम उमेरमै प्रधानमन्त्री बन्नुभयो। विश्वप्रकाश शर्मालाई पनि ५० वर्ष नपुग्दै प्रधानमन्त्री हुने इच्छा थियो होला, तर भएन,’ शनिबार अमेरिकामा भएको कार्यक्रममा शर्माले भनेका कुरा उद्धृत गर्दै सँगै रहेका कांग्रेस गोरखाका सचिव किशोरजंग थापाले सेतोपाटीसँग भने, ‘गगन थापा ५० वर्षमुनिकै हो, प्रधानमन्त्रीमा मेरोभन्दा गगनकै दाबा बलियो छ।’
हालै महामन्त्री थापाले टेलिभिजन कार्यक्रममा अबको चुनावपछि प्रधानमन्त्रीमा दाबी गर्ने बताएका थिए।
प्रधानमन्त्रीमा दाबी गर्नका लागि सांसद जितेर संसदीय दलको नेता चुनिनुपर्छ। मंसिरमा हुने संघीय निर्वाचनपछि कांग्रेसले गर्ने संसदीय दलको चुनावमा थापा पनि दलको नेताका लागि उठ्ने तयारीमा छन्।