यसअघि विवादका कारण स्थगित भएको बाजुराकाे बुढीगंगा नगरपालिकामा बिहीबार स्थानीय तहको निर्वाचन हुने भएको छ।
गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको थियो।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि सुरक्षा व्यवस्थामा कडाइ पार्न एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन्।
१० वटा मतदानस्थल रहेको र हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको प्रमुख जिल्ला अधिकारीले जनाएको छ।
मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका जनाइएको छ।
१० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालकाे निर्वाचनमा यहाँ २ सय जनामात्रै सुरक्षाकर्मी खटाइएको थियाे।
बिहीबार हुने निर्वाचन बुढीगंगाकाे मेयरका लागि नेपाली कांग्रेसबाट रंग खाती र उपमेयरका लागि रिता शाही चुनाव लड्दै छन्।
यस्तै, एमालेका तर्फबाट रामबहादुर बानियाँ मेयर र माया कुँवर उपमेयरका उम्मेदवार हुन्।
यहाँ कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुनेछ। गत २०७४ काे चुनावमा यहाँ कांग्रेसबाट मेयरमा दीपकविक्रम शाहले ३ हजार ८ सय ४५ र उपमेयरमा तारा खाती थापाले ३ हजार ७ सय ६० मत ल्याएर एमालेलाई हराउँदै चुनाव जितेका थिए।
याे पटककाे निर्वाचनमा कांग्रेस र एमाले दुबैले आ-आफ्नो जित सुनिश्चित रहेकाे दाबी गर्दै आएका छन्।
बुढीगंगा नगरपालिकामा याे चुनावमा जम्मा १२ हजारकाे हाराहारीमा मतदाता छन्।
गत चुनावमा यहाँ करिब ९ हजारकाे हाराहारीमा मत खसेकाे थियाे।