गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा भिड नियन्त्रणका लागि प्रहरीलाई गोली चलाउने आदेश नदिइएको प्रष्टाएका छन्।
सोमबार प्रहरीको गोली लागेर स्थानीय नविना चौधरीको मृत्यु भएको थियो। उक्त घटनाबारे सांसदहरूले सरकारको जवाफ मागेका थिए।
आज प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रूलिङ गरेका थिए।
गृहमन्त्री खाणले चितुवा र बाघबाट गाउँलाई सुरक्षित राख्न तारबार लगाउनेजस्ता माग राखेर स्थानीयले हुलाकी राजमार्ग बन्द गरेको र सुरक्षाकर्मीले पाँच घन्टापछि सडक खुलाउन खोज्दा झडप भएको बताएका छन्।
‘सडक अवरूद्ध भएको पाँच घन्टापछि खोल्न खोल्दा भिडले ढुंगामुढा गरेको थियो। त्यसक्रममा अश्रुग्यास र गोली चलेको थियो। स्थानीय नविना चौधरीको गोली लागेर दु:खद निधन भएको छ,’ उनले भने, ‘बर्दियाका प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश दिएको छैन भन्नुभएको छ। कसको आदेशले गोली चलेको हो छानबिन समितिले अध्ययन गरेपछि जानकारी हुनेछ।’
नागरिकहरूले गरेका विरोध प्रदर्शनमा गोली चलाउने आदेश सरकारले नदिएको पनि खाणले बताए।
‘नागरिकहरूको भिड र अवरोधमा गोली चलाउने आदेश छँदैछैन। सम्झाइबुझाइ गर्ने, सर्वपक्षिय वा सर्वदलीय बैठक गर्ने हो। कम शक्ति प्रयोग गर्ने हो, गोली प्रहार गर्ने आदेश छैन,’ उनले भने, ‘त्यहाँ गोली चल्नु र एक जनाको निधन हुनु दु:खद हो।’
उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि घिमिरे नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको उनले बताए।
‘गोली चलाउने आदेश कसले दियो भन्ने आवश्यक अध्ययन पछि थाहा हुन्छ। दोषीमाथि कारबाही गरिन्छ,’ उनले भने। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गोली चलाउनेमाथि कारबाही हुनुपर्ने माग गरेका थिए।