कलाकारहरू भुवन केसी, श्वेता खड्का र रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर कलाकारहरूले कांग्रेस प्रवेश गरेका हुन्। उनलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्।
देउवाले उनीहरूलाई टीका लगाइदिएका थिए।
अभिनेता भुवन केसीले कला क्षेत्रमा थप योगदान पुर्याउने उद्देश्यले कांगेसमा प्रवेश गरेको बताए।
‘म एउटा कलाकार हुँ। मैले यही क्षेत्रमा काम गरेको ४० वर्ष भइसक्यो। तर नेपाली फिल्म क्षेत्रले खासै सफलता नपाउँदा सधैं चिन्तित हुन्थेँ। त्यसैले नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्धन गर्नको लागि कांग्रेस प्रवेश गरेको हुँ। कांगेसका नेताहरूले नेपाली कला क्षेत्रलाई अगाडि बढाउने विश्वास दिलाउनु भएको छ,’ उनले सेतोपाटीसँग भने।
२०७० सालमा उनी एमालेमा सक्रिय थिए। स्थानीय चुनावको घोषणा भएसँगै उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारमा उठाउन लागेको घोषणा गरेको थियो। त्यसपछि उनले आफूले त्यो पार्टीबाट मेयरमा नउठ्ने बताएका थिए।
उनीहरूसँगै कार्यक्रममा कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाह पनि पुगेका थिए।