नेकपा एमालेले सुनसरीको इटहरी उपमहानगरमा हालका नगर प्रमुख द्वारिकलाल चौधरीसहित ६ जना मेयरका आकांक्षीलाई सिफारिस गरेको छ ।
आइतबार नेकपा एमाले सुनसरीको इटहरी उप-महानगर कमिटीले उम्मेदवारी दाबी गर्न आकांक्षीलाई बोलाएको बैठकमा चौधरी अनुपस्थित रहे पनि छनोट कमिटिले उनीसहित थप ५ जना आकांक्षीलाई सिफारिस गरेको हो।
‘आइतबार बिहान हामीले आकांक्षीहरुलाई बोलाएको बैठकमा मेयरसा’ब अनुपस्थित रहनुभयो,’ इटहरी एमालेका सचिव रुपेश बस्नेतले सेतोपाटीसँग भने, ‘उहाँले आफू पनि आकांक्षी रहेको सूचना पठाएपछि दिउँसो बसेको उपमहानगर कमिटी बैठकले उहाँसहित आकांक्षीहरुको नाम सिफारिस गरेको छ।’
आगामी स्थानीय तहको निर्वाचनमा एमालेले इटहरी नगर नेतृत्वका लागि ६ जना आकांक्षीको नाम सिफारिस गरेको सचिव बस्नेतले जानकारी दिए।
बैठकले नगरप्रमुख द्वारिकलाल चौधरी, उप्रपमुख तथा केन्द्रीय सदस्य लक्ष्मी गौतमको नाम मेयरको लागि सिफारिस गरेको छ। यस्तै, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, जिल्ला सदस्य रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको हो।
उपमेयरमा भने ९ जनाको नाम सिफारिस भएको छ। अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम उपमेयरमा सिफारिस भएको छ।
उपमहानगर कमिटिले सिफारिस गरेको नाम जिल्ला कमिटीबाट प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेर निर्णय हुनेछ।
इटहरी उपमहानगरमा २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार द्वारिकलाल चौधरीले २२ हजार ६८९ मत प्राप्त गरेर जित्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रोहितप्रसाद प्रसाईंले १९ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए।
यस्तै राप्रपाका उम्मेदवार रोहितबहादुर कार्कीले ३ हजार ७ सय १५ तथा माओवादी केन्द्रकी उम्मेदवार हरिमाया जिमीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेकी थिइन्।
उपप्रमुख पदमा पनि एमालेकै लक्ष्मी गौतमले २१ हजार ८ सय ४२ मत ल्याएर जित्दा कांग्रेसकी उम्मेदवार विमला सिवाकोटीले १८ हजार ३५२ र माओवादी केन्द्रका भीमप्रसाद सुवेदीले ४ हजार ८३१ तथा राप्रपाकी माया रायमाझीले ३ हजार ९१९ मत प्राप्त गरेका थिए।