कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले निर्वाचन खर्च अत्यन्तै महंगो हुँदै गएको बताएका छन्। खर्चकै कारण चुनाव लड्न नसकिने अवस्था आएको उनले बताए।
नेविसंघ इलाम काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव लड्न कोही आउने हो भने छोडिदिने घोषणा गरे।
कोइराला नवलपरासी क्षेत्र नम्बर १ गयाकोटबाट तीन पटक निर्वाचित भएका थिए। आफूले पहिलोपटक निर्वाचन लड्दा त्यहाँ ८० हजार रुपैयाँ खर्च गरेको बताए।
दोस्रोपटक चुनाव लड्दा तीन करोड र अन्तिम पटक गएको प्रतिनिधिसभामा निर्वाचित हुँदा ६ करोड खर्च गरेको बताए।
‘चुनाव खर्च त घट्दै जानुपर्ने होइन, झन् झन् बढिरहेको छ, किन बढ्दै गएको हो,’ उनले भने।
उक्त क्षेत्रमा निर्वाचन लड्दा अब पनि ६/७ करोड खर्च गर्नैपर्ने देखिएको कोइरालाले बताए।
‘पहिलो चुनावमा मलाई त्यहाँ कसैले चिन्दैनथे, नयाँ थिएँ, चिनिसकेपछि त मूल्य घट्नुपर्ने हो नि,’ कोइरालाले भने।