नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी स्थानीय निर्वाचन केन्द्रित पार्टीको अभियानलाई गठबन्धन गर्ने निर्णयले असर पारेको बताएका छन्।
कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेपछि कोइरालाले पार्टी अभियान र तालमेलको निर्णय आपसमा मेल नखाएको बताए।
‘एकातिर घर-घर जाऔं कांग्रेस जिताऔं भनेका छौं, अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं,’ कोइरालाले भने, ‘यो त मिलेन, कसरी व्यवस्थापन गर्ने?’
पोखरामा सोमबार आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताए। तर उनले २०७४ सालमा भरतपुरमा माओवादीसँग गरिएजस्तो तालमेल नगर्न स्थानीय कमिटीहरूलाई आग्रह गरेका छन्।
गत स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दा माओवादी उम्मेदवारले जित्ने र कांग्रेस उम्मेदवारले हार्ने स्थिति दोहोरिन नदिन उनले आग्रह गरेका हुन्।
गत स्थानीय निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाल कांग्रेसको समर्थनमा भरतपुरको मेयर जितेकी थिइन्। भरतपुर महानगरका मेयर माओवादीलाई छाडेर कांग्रेसले पोखरा महानगरको मेयरमा माओवादीको समर्थन लिएको थियो। तर पोखरामा भने माओवादी समर्थन पाएको कांग्रेसका मेयर उम्मेदवार रामजी कुँवर पराजित भएका थिए।
कांग्रेस केन्द्रीय सदस्य रहेका कोइरालाले नयाँ मतदातालाई रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न लगाउनुपर्ने अवस्था चुनौतीपूर्ण रहेको बताए।
‘आउँदो निर्वाचनमा ३६ लाख मतदाताले पहिलो पटक मत दिँदैछन्, उनीहरूलाई हँसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा फेरि रूखमा मत हाल भनेर कसरी भन्ने?,’ कोइरालाले भने, ‘यो गम्भीर विषय हो, यो कुरालाई हामीले मध्यनजर गर्नुपर्छ।’
चुनावमा गठबन्धन गर्ने कुरा खराब नभए पनि उनले औचित्य पुष्टि हुनुपर्ने बताए।
तालमेलको आवश्यकता अनुसार प्रदेश, जिल्ला, नगर र वडा कार्यसमितिले नै निर्णय लिन समेत उनले कार्यकर्तालाई आग्रह गरे।
निर्वाचनमा जथाभावी टिकट वितरण गर्ने परिपाटी पनि रोकिनुपर्ने उनले जोड दिएका छन्।
सक्षम र योग्य उम्मेदवारले टिकट पाउनुपर्ने भन्दै उनले पार्टीको विधान अनुसार टिकट वितरण हुनुपर्ने धारणा राखे। कांग्रेसको प्रदेश कार्यसमितिले विधान अनुसार समन्वयकारी भूमिका खेल्न उनले आग्रह गरे।
कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले तालमेल गर्दा अरू पार्टी कांग्रेसको एजेण्डामा आउनुपर्ने बताए। यसका लागि तयार हुन उनले अन्य दलहरूलाई आग्रह गरे।
कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले आउँदो निर्वाचनमा कार्यकर्तालाई उत्साह दिन सक्ने उम्मेदवारले टिकट पाउनुपर्ने बताए।