परराष्ट्र मन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीस्तरको सम्बन्ध बढाउन भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको मुख्यालयमा गएको बताएका छन्।
आइतबार साँझ प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्र मन्त्री खड्काले देउवा नेपालको प्रधानमन्त्री नभई नेपाली कांग्रेसको सभापतिका नाताले भाजपा मुख्यालयमा गएको बताए।
'नेपाली कांग्रेसले अन्य देशका विभिन्न पार्टीसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ। चीनको कम्युनिष्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध छ। भारतको कंग्रेस आईसँग राम्रो सम्बन्ध छ,' खड्काले भने,'अहिले भाजपा मुख्यालयमा उहाँ प्रधानमन्त्री भएर जानुभएको होइन नेपाली कांग्रेसको सभापति भएको नाताले जानुभएको हो।'
भारत भ्रमणमा गएकै दिन गत शुक्रबार साँझ प्रधानमन्त्री देउवा भाजपा मुख्यालय गएका थिए।
भारत भ्रमणमा जाँदा विपक्षी दलका नेताहरूलाई पनि भेट्ने चलन भए पनि यसपालि प्रधानमन्त्री देउवाले विपक्षी दलका नेताहरूसँग भेटेनन्। विपक्षी नेतालाई नभेट्ने तर सत्तारूढ दलको मुख्यालयमा जानु राम्रो नहुने भन्दै यस विषयमा कूटनीतिक वृत्तमा चर्चा भएको थियो।