सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी आज संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आफ्नो पनि सरोकार भएको भन्दै बहसका लागि उपस्थित भएका छन्।
संवैधानिक इजलासमा संवैधानिक परिषदको अध्यादेश, त्यो अध्यादेश अनुरूप नियुक्तविरूद्ध परेका रिट, साथै प्रधानन्यायाधीशबिना संवैधानिक इजलास नचल्ने भन्ने अधिवक्ता गणेश रेग्मीको रिटमाथि पनि सुनुवाइ हुँदै थियो। त्यो रिटले पूर्वन्यायाधीशहरूलाई पनि अदालतमा विचाराधीन मुद्दामा बोल्न रोक लगाउन माग गरेको थियो।
रेग्मीको रिटमाथि यसअघि हरि फुयाँलेको इजलासले अन्तरिम आदेश दिएको थियो। त्यो अन्तरिम आदेशले पूर्वन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दाबारे बोल्न हुने/नहुने विषयबारे हेर्नुपर्ने आदेश दिएको थियो। त्यो मुद्दा आज संवैधानिक इजलासमा अरू रिटसँगै बहस सुनुवाइ हुँदै थियो। त्यही सुनुवाइमा आफ्नो पनि कुरा रहेको भन्दै उनी उपस्थित भएका हुन्।
सर्वोच्च अदालतको न्यायाधीश सर्वोच्च अदालतमै आफ्नो सरोकारको विषयमा बहस गर्न आएको यो नौलो घटना हो।
पूर्वन्यायाधीश बलराम केसीले अवकाश प्राप्त भएपछि पूर्वन्यायाधीशहरूले सामान्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रता लगायतका मौलिक हक उपभोग गर्न पाउनुपर्ने बहसमा जिकिर गरे।