निर्वाचन आयोगले राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ प्रदान गरेको छ।
स्थानीय निकायको निर्वाचन नजिकिएको अवस्थामा राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको हो।
बुधबार राप्रपा नेपालले विज्ञप्ति जारी गरी हाललाई ‘तीर’ चिन्ह प्राप्त भएको जनाएको हो।
राप्रपा नेपालले चुनाव चिन्ह गाई माग्दै आएको थियो। तर, आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले हाललाई ‘तीर’ चिन्ह मागिएको राप्रपा प्रवक्ता सुरेश आचार्यले बताए।
स्थानीय तहको निर्वाचनका लागि १७ नम्बरमा दल दर्ता रहेको राप्रपा नेपालले केही दिनअघि आयोगसँग ‘तीर’ चुनाव चिन्ह मागेको थियो। बुधबार आयोगले राप्रपा नेपाललाई ‘तीर’ चिन्ह दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।
कमल थापाले नेतृत्व गर्दै आएको राप्रपा नेपालले हाललाई अर्को व्यवस्था नहुञ्जेलसम्म ‘तीर’ चिन्हलाई पार्टीका प्रचार-प्रसार सामग्रीमा प्रयोग गरिने जनाएको छ।
थापाले गत फागुन ७ गते राप्रपा नेपाल पार्टीको घोषणा गरेका थिए। त्यसअघि उनी राप्रपाको माउ पार्टीमा थिए।
राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका थिए।