नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति उठ्न त्रिविको उपप्राध्यापकबाट राजीनामा दिएका प्रेमध्वज लामा पराजित भएका छन्।
शनिबार भएको जिल्ला अधिवेशनमा लामाले तेस्रो मत ल्याए। सभापति पदमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज दोस्रो चरणमा दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुँदैछ।
लामाले संस्थापन पक्षका सबैको साथ पाएनन्। उनलाई सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का पक्षका केही नेताले मात्रै साथ दिएका थिए।
साथै संस्थापन पक्षबाटै सभापतिमा अर्का उम्मेदवार जंगबहादुर तामाङ पनि चुनावी मैदानमा थिए। तामाङलाई केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पक्षको समर्थन रह्यो। उनी अन्तिम समयमा सभापतिका लागि उम्मेदवार बनेका थिए।
यस्तै संस्थापनइतर पक्षबाट वंशलाल तामाङ सभापतिका उम्मेदवार छन्। पूर्वसभापति विकास लामानिकट उनलाई केन्द्रबाट शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूको साथ छ।
सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत ल्याएका छन्। वंशलाल तामाङले ६२९ र प्रेमध्वज लामाले ४९३ मत ल्याएका छन्। यहाँ एक हजार आठ सय ६८ मत खसेको थियो।
अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणको चुनाव हुने भएको छ।
उपप्राध्यापकको जागिर छाडेर राजनीतिमा होमिएका प्रेमध्वज पहिलो चरणबाटै पराजित भए पनि निर्णायक छन्। उनले जसलाई समर्थन गर्यो उही सिन्धुपाल्चोक सभापति बन्ने सम्भावना छ।