रूसले युक्रेनमाथि आक्रमण गरेको सातौं दिन दुई मुलुकबीच दोस्रो चरण वार्ता हुने भएको छ।
समाचार संस्था एपीका अनुसार वार्ताका लागि दुबै पक्षका अधिकारीहरू तयार भएका छन्। वार्ता कहाँ र कतिबेला हुने भन्ने टुंगिन बाँकी छ।
रूसी अधिकारीहरूले बुधबार साँझ वार्ता हुन सक्ने बताएका छन्।
यसअघि गत आइतबार बेलारूस र युक्रेनको सीमामा युक्रेन र रूसी अधिकारीहरूबीच भएको पहिलो चरणको वार्ता बिना निष्कर्ष टुंगिएको थियो।
वार्ता बिनानिष्कर्ष टुंगिएपछि रूसले युक्रेनमाथि आक्रमण जारी राखेको छ। बुधबार मात्रै उसले युक्रेनको खेर्सोन सहर कब्जामा लिएको दाबी गरेको छ भने राजधानी किएभमा आक्रमण बढाएको छ।
युक्रेनी अधिकारीहरूले दोस्रो चरणको वार्ताबाट पनि निष्कर्ष निस्कने सम्भावना झिनो मात्र रहेको बताएका छन्।