रूसले युक्रेनमाथि गरेको आक्रमण योजनाअनुसार अघि बढेको छैन।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी सुरक्षाकर्मीले रूसीहरूले गरेको ठूलो आक्रमणलाई निस्तेज पारिदिएका छन्।
दक्षिणमा भ्लादिमिर पुटिनका सैनिकहरूले केही भू-भाग त कब्जा गरेका छन् तर उनीहरू युक्रेनी सहरमा पसेका छैनन्।
राजधानी किएभ आसपासमा सुरक्षाकर्मीले थुप्रै आक्रमणको प्रतिरोध गरेका छन्। किएभमा त राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नै प्रतिरोधका प्रतीक बनेका छन्। पुटिनले आफ्नो सम्बोधनमा जेलेन्स्कीलाई ‘ड्रग एडिक्ट’ र नाजीका रूपमा व्याख्या गरेका थिए तर जेलेन्स्कीले साहसी र राष्ट्रवादी राष्ट्र प्रमुखको भूमिका निभाइरहेका छन्।
रूसले युक्रेनमाथि आक्रमण गरेको एक साता बितेको छैन। पुटिनले अझै पनि किएभलगायत युक्रेनी सहरलाई घेर्न थप सुरक्षाकर्मी पठाउन सक्छन्। त्यसो हुँदा नागरिकका साथै दुबै पक्षका सैनिकमा ठूलो हताहती हुन सक्छ।
पुटिनले अझै पनि यो लडाइँ जित्न सक्छन् र रूसी जातिको उद्गमस्थल किएभमा आफूले चाहेजस्तो सरकार बनाउन सक्छन्। तर फराकिलो हिसाबले हेर्ने हो भने जतिबेला उनले यस्तो युद्ध घोषणा गर्नेछन् त्यतिञ्जेलसम्म उनले युद्ध हारिसकेका हुनेछन्।
जति पनि युक्रेनी सहरमा पुटिनका सेनाले आक्रमण गरेका छन् त्यहाँका वासिन्दामा राष्ट्रवादी भावना झन् मजबुद् भएको छ। अब कसैले पनि पुटिनको नाममा आफूमाथि गर्ने शासनलाई उनीहरूले मान्यता दिने छैनन्।
संसारभरि उनी अझै धेरै कलंकित बन्नेछन्। रूसभित्रै उनले प्रतिबन्धले थिचिएको र उनको दमनकारी शासनले दबिएको समाजलाई चलाउनु पर्ने छ।
अहिले नै रूसी कुलीन वर्ग उनको दुस्साहसबाट त्रसित छ। युक्रेनविरूद्धको उनको कदम जति नराम्रो हुँदै जान्छ त्यति नै छिटो उनको शासनमा चिराहरू देखिन थाल्छन् र रूसीहरू सडकमा उत्रिन्छन्। यस्तो बेलामा पुटिनले क्रेमलिनमै बस्ने हो भने रूसले दशकौंदेखि नदेखेको त्रास जनतामा लाद्नुपर्ने हुन्छ।
यो युद्धमा पुटिनले गरेको पहिलो गल्ती उनले आफ्नो शत्रुलाई कम आके। सायद उनले युक्रेन कुनै मुलुक होइन सिआइएले बनाइदिएको र फटाहाहरूले शासन गरिरहेको ठाउँ हो भन्ने आफ्नै प्रोपोगान्डालाई विश्वास गरे।
यदि रूसी सैनिकको पहिलो आक्रमणमै युक्रेन विघटन हुन्छ भन्ने ठान्छन् भने यसमा उनी गलत हुनेछन्।
पुटिनले गरेको अर्को गल्ती उनले आफ्ना सुरक्षाको व्यवस्थापन राम्ररी गर्न सकेनन्। रूसी सुरक्षा बल अहिलेसम्म युक्रेनको आकाशमा दबदबा राख्न असफल भएका छन्। पुटिनले अहिले आफ्ना नागरिकलाई हामी युद्धमा गएका छैनौं अनाजिकरणको कारबाही मात्रै गरिरहेका छौं भनेर आश्वस्त पार्न निकै मेहनत गरेका छन्। आफूले के गरिरहेका छौं भन्ने थाहा नपाएका रूसी सैनिक मुक्ति सेनाको रूपमा आफ्नो स्वागत हुने ठानेर युक्रेनतिर अघि बढेका थिए। पुटिनले युक्रेनमा जति युक्रेनी मर्छन्/मर्छन् भनेर पठाए भने त्यहीअनुसार गर्न रूसी सैनिक नमान्न सक्छन् किनकी रूसी सैनिकका आफन्त, नातागोता युक्रेनमा छन्। युक्रेनी सहरहरू कब्जा गर्दा थुप्रै रूसी सैनिकहरू मारिए भने केही भएको छैन भनेर पुटिनले लुकाउन सक्ने छैनन्।
पुटिनले गरेको तेस्रो गल्ती हो, उनले पश्चिमाहरूलाई कम आके। पश्चिमाहरूले आफ्नो कदमको एकीकृत जवाफ दिन कठिन हुनेछ भन्ने उनले ठाने। नागरिकको प्रजातन्त्रप्रति साँच्चै आस्था हुन्छ भन्ने बुझ्न कठिन हुने तानाशाही शैलीमा शासन चलाइरहेका उनलाई युक्रेनका पक्षमा लण्डनदेखि बर्लिनसम्म भएका प्रदर्शनले अचम्मित पार्यो।
रूसविरूद्ध लड्ने युक्रेनीको साहस र आफ्नै नागरिकको समर्थनले पश्चिमा सरकारहरूले अन्तिममा रूसलाई जवाफ दिने योजना बनाए। उनीहरूले रूसविरूद्ध सोझै सैन्य कारबाही गर्ने वा सो सरहको युक्रेनमा रूसी जहाजलाई उड्न प्रतिबन्ध नलगाएर आर्थिक प्रतिबन्ध लगाउने रणनीति अपनाए। फेब्रुअरी २६ मा उनीहरू रूसी केन्द्रीय बैंक र आर्थिक प्रणालीमा कडा प्रतिबन्ध लगाउन सहमत भए। यी प्रतिबन्धले रूसको विदेशी सञ्चितिलाई ब्लक गर्नुका साथै रूसी बैंकलाई कमजोर बनाउने छन्।
प्रतिबन्धको अर्को दिन नै रूसले आक्रामक प्रतिक्रिया दिएको छ। पुटिनले सैनिक प्रमुखसँग छलफल गरेर देशको आणविक हतियारसँग सम्बन्धित सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन भनेका छन्। अर्थात् पश्चिमाले लगाएको आर्थिक नाकाबन्दीलाई पुटिनले आणविक युद्धसँग तुलना गरेका छन्।
आणविक शक्ति प्रयोग गर्न सक्छु भन्ने पुटिनको कदम नैतिक रूपले गलत मात्रै छैन यसले यो द्वन्द्व धेरै बढ्ने देखाउँछ। यसको अर्थ यो होइन कि पश्चिमाहरूले आर्थिक प्रतिबन्ध लगाउनु गलत थियो। पुटिनको आक्रामकता नै उनी कति खतरनाक छन् भन्ने प्रमाण हो। उनीसँग डराएर पछि हट्यो भने अझ ठूलो खतरालाई निम्तो दिएसरह हुन्छ।
रूसको यो चेतावनीलाई भारत र चीनसहित सबै आणविक शक्ति राष्ट्रहरूले संयुक्त राष्ट्रको सुरक्षा परिषदमा आणविक त्रास अस्वीकार्य हुने घोषणा गरेर जवाफ दिनुपर्छ। सँगै उच्च अमेरिकी अधिकारीहरू आफ्ना रूसी समकक्षीको निकट सम्पर्कमा रहनुपर्छ र उनीहरूलाई भन्नुपर्छ कि उनीहरूका हरेक कदममा उनीहरूलाई व्यक्तिगत रूपमा जवाफदेही बनाइने छ।
पुटिनले गर्ने अर्को गल्ती विश्वले थेग्न सक्दैन।
(द इकोनोमिस्टमा प्रकाशित सामग्रीको भावानुवाद)