समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपालको दीगो विकास गरिबी निवारणका लागि अमेरिकी अनुदान सहायतालाई संसदबाट अनुमोदन गर्ने, घोषित स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायत विषयमा उनीहरूबीच छलफल भएको थियो।
प्रमुख विपक्ष नेकपा(एमाले)का कारण प्रतिनिधि सभाको अवरोध हटाउन एकताबद्ध भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो।
छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलको मागलाई समेत दृष्टिगत गरी यही फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा बैठक फागुन ४ का निम्ति प्रस्ताव गरेको उनका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन्।
सत्तारूढ गठबन्धनबीचको एकतालाई आगामी तीनै तहका निर्वाचनसम्म निरन्तरता दिने विषयमा पनि उनीहरूबीच मतैक्यता रहेको थियो।