चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ।
यसका लागि चन्द्रागिरि-१२ स्थित गुर्जुधारामा करिब सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन्।
मौलिक एवं सास्कृतिक कलात्मक आँखी झ्याल संरचनाको छ तलाको सो भवन २५ करोड रुपैयाँ लागतमा सम्पन्न हुन लागेको हो।
तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संरचना बनिरहेको र सो रकममध्ये जिल्ला समन्वय समिति काठमाडौंको १० करोड रुपैयाँ र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ।
नगरप्रमुख घनश्याम गिरीले भने, ‘यही माघ मसान्तभित्रमा हामी नयाँ भवन सर्दैछौं। भवन उद्घाटनको तयारी हुँदैछ।’
बाल, जेष्ठ नागरिक र अपाङ्गता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट्याउने, रङ्गरोगन गर्ने तथा बाह्य संरचनामा बगैंचा बनाउने काम धमाधम जारी छ।
समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङ्सिर ११ गते संयुक्त रूपमा सो भवनको शिलान्यास गरेका थिए।
रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ वैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड-१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ।
नयाँ भवनबाट पशु सेवा कार्यलयबाहेक अन्य सेवा नगरबासीले एकीकृत रूपमा पाउने उनले बताए।
उनले भने, ‘अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्छ।’
यस अघि सो कार्यालयको भवन १ करोड ५७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भइसकेको जनाइएको छ।
भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो प्रशासनिक भवनमा करिब २०० क्षमताको सभाहलसहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ को रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिए।
उनले भने,‘निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने योजनामा काम भैराखेको थियो। कोरोना महामारीका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिँदै आएका छौं। भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ। हस्तान्तरणको तयारीमा छौं।’
नगरपालिकाको १५ वडामध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन्।
पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको नगरप्रमुख गिरीले जानकारी दिए।
उनले भने,‘नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमिकतामा थियो। यस कार्यमा सफलता मिलेको छ।’
काठमाडौं जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ तत्कालीन गाउँविकास समिति मिलाएर सो नगरपालिका बनाइएको थियो।