हाम्रा स्थानीय सरकार
सम्पादकीय नोट: राजनीतिक अस्थिरताका कारण लामो समय स्थानीय तह जनप्रतिनिधिविहीन थिए। संघीयतामा गएपछि गाउँ/नगरपालिकाको पुनर्संरचना भयो। गाउँ-सहरमा सिंहदरबारको नारा लाग्यो। यी स्थानीय तहले पाँच वर्षको आफ्नो पहिलो कार्यकाल पूरा गर्दैछ। यस अवधिमा अरूले भन्दा राम्रो काम गरेका प्रत्येक प्रदेशका दुईवटा गाउँ/नगरपालिकाबारे सेतोपाटीले स्टोरी गर्ने छ।
दुई साताअघि हरिवन बजार, सर्लाहीको एउटा चियापसलमा पसलेलाई भ्याइनभ्याइ थियो। सबै कुर्सी ग्राहकले भरिएका थिए।
तिनैमध्ये एक थिए हरिवन नगरपालिका-४ का अशोक सिंह, जो साथीहरूसँग गफिँदै चिया खान त्यहाँ आइपुगेका थिए।
उनीहरूले चियाको सुर्की लगाउँदै गफ गरिरहेका बेला म समूहमा मिसिएँ।
कुराको मेसो निकाल्न मैले भनेँ, 'तपाईंहरूको नगर त बदलिसकेछ नि!'
अरू सबै मुसुक्क हाँसे मात्र, बोलेनन्। अशोकले भने मेरो कुरामा सही थाप्दै भने, 'निकै फेरिएको छ। सडक पक्की बनेका छन्। बजार बढेको छ। पार्क बनेका छन्। अस्पतालमा राम्रो सेवा पाइन्छ। सिँचाइ गर्न बोरिङ गाडिएको छ। हरेक टोलको रूपरंग बदलिएको छ।'
'यो सब कसरी सम्भव भयो त?' मैले सोधेँ।
अशोकले तुरून्तै जवाफ दिए, 'नगरपालिकाले, यहाँका नेताले गरेको हो यो सब।'
त्यसपछि उनी एकछिन चुप लागे अनि फेरि केही सम्झेझैं भने, 'हामीसँग जे जति काम गर्छौं भनेका थिए, सबै त गरेनन् तर कोसिस गरेका छन्।'
उनले स्कुल र सिँचाइको उदाहरण दिए, 'चुनावअघि सरकारी स्कुल राम्रो बनाउँछु भनेर बाचा गरेका थिए। तीमध्ये केहीमा पढाइ राम्रो भएको छ। केहीमा धेरै सुधार गर्न बाँकी छ। धेरै किसानले सिँचाइ सुविधा पाएका छन् तर त्योभन्दा धेरैलाई खानेपानीको समस्या छँदैछ।'
'यही गतिमा काम हुने हो भने उनका बाचा र हाम्रा सपना छिट्टै पूरा होलान्,' उनले भने।
विना भट्टराईको अनुभव पनि त्यस्तै छ।
उनी आफ्नी छोरी जन्मेको १० महिनापछि काठमाडौंबाट हरिवन आएकी थिइन्। आएको केही दिनमै नगरपालिका बच्चाको जन्म दर्ता र आफ्नो विहे दर्ता गर्न गइन्। बच्चा जन्मेको १ वर्ष नपुगेको थाहा पाएपछि उनलाई नगरपालिकाले १० किलो चामल र एक किलो घ्यू दियो। नगरपालिकाले यसरी आफ्नो ख्याल राख्ला भन्ने उनले सोचेकै थिइनन्।
'मेरो घरमा खानलाई कमी छैन। मैले पौष्टिक आहार, परिवारको माया र साथ सबै पाएँ। तर यही नगरमा धेरै महिलाको अवस्था मेरोजस्तो छैन। सुत्केरी हुँदा पनि पेटभरि खान नपाउने महिलाका लागि नगरपालिकाले पठाउने चामल र घ्यूले ठूलो अर्थ राख्छ। म त्यही सम्झेर अझ बढी खुसी भएँ,' विनाले भनिन्।
हरिवन नगरपालिकाले सुत्केरीभएपछि महिलालाई एकपटक घ्यू र चामल दिने व्यवस्था मात्र गरेको छैन, सुत्केरी हुनुअघिदेखि आमा र बच्चाको स्वास्थ्यबारे चासो पनि राखेको छ। गर्भवतीले स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माउन सकून् भनेर बर्थिङ सेन्टरहरू स्थापना गरिएको स्थानीय महिला बताउँछन्।
'हामीसँग प्राइभेट हस्पिटलमा एम्बुलेन्स चढेर सुत्केरी गराउन जाने र अप्रेसन गराउने पैसा छैन। गाउँमै सुविधा भएपछि एम्बुलेन्स लिनुपर्दैन, सित्तैमा काम भइरहेको छ,' वडा नम्बर ४ को स्वास्थ्य केन्द्रमा उपचार गराउन आएकी खुशबु खातुनले भनिन्, 'गाउँमै बर्थिङ सेन्टर भएपछि निकै ढुक्क हुने रहेछ।'
पहिले एउटा बर्थिङ सेन्टर मात्र रहेको हरिवनमा चार वर्षयता थप तीनवटा निर्माण भए। फागुनदेखि लागू हुने गरी स्वास्थ्य केन्द्रमै बच्चा जन्माउनुपर्ने व्यवस्था गरिएको छ।
यसका लागि एउटा एम्बुलेन्स किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र थप दुईवटा किन्ने योजना रहेको हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं बताउँछन्।
नगरपालिकामा जनप्रतिनिधि आएपछि खासगरी स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको स्थानीयको अनुभव छ।
यहाँका स्वास्थ्य केन्द्रमा अहिले प्याथोलोजी ल्याब, एक्सरेसहितका सुविधा छन्। वडा नम्बर ४ को स्वास्थ्य केन्द्रमा जचाउन आएका राजकुमार साहलाई हामीले प्याथोलोजी ल्याबबाट रिपोर्ट लिएर ओपिडीको लाइन बस्दै गर्दा भेटेका थियौं। पहिले बिरामी हुँदा मलंगवा जानुपर्नेमा अचेल आफ्नै नगरपालिकामा उपचार पाइन थालेको उनले बताए।
'प्राइभेटमा पैसा धेरै खर्च हुन्थ्यो,' उनले भने, 'पैसा नहुने गरिबहरू उपचारै गराउन जाँदैनथे, अहिले जोसुकैले उपचार पाउँछन्।'
ड्युटीमा भेटिएका डाक्टर विजय साहका अनुसार यहाँ दैनिक औसत ३५/४० जना बिरामी आउँछन्। यही स्वास्थ्य केन्द्रको पछाडि १५ बेडको अस्पताल निर्माण भइरहेको छ। एक वर्षभित्र भौतिक पूर्वाधार सक्ने गरी १४ करोडमा ठेक्का सम्झौता भएको मेयर प्रसाईंले जानकारी दिए।
'निःशुल्क अप्रेसन, ओपिडी, प्याथोलोजी ल्याब, अल्ट्रासाउन्ड लगायत सेवा जनताले पाउने गरी हामी यहाँ अस्पताल बनाउँदैछौं,' उनले भने।
प्रसाईंले नेतृत्व सम्हालेका बेला नगरपालिकामा चारवटा स्वास्थ्य चौकी थिए। अहिले ११ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएका छन् जहाँ हेल्थ असिस्टेन्ट (एचए), अहेब, अनमी र कार्यालय सहयोगी छन्।
मेयर प्रसाईं कोरोना महामारीको दोस्रो लहर बेला प्रदेशभरि चर्चामा आएका थिए। सिंगो देशलाई महामारीसँग लड्न गाह्रो भइरहेका बेला उनले नगरपालिकाबाट सय बेडको क्वारेन्टिन, आइसोलेसनसहित सुलभ स्वास्थ्य सेवा उपलब्ध गराएका थिए।
स्थानीयका अनुसार प्रसाईं आफैं संक्रमितलाई एम्बुलेन्स चढाएर आइसोलेसनसम्म पुर्याउने काममा खटिएका थिए।
स्वास्थ्यपछि नगरपालिकाले गरेको अर्को महत्वपूर्ण सुधार शिक्षा हो।
हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस अहिले हेर्दा पनि आकर्षक देखिन्छ। यो क्याम्पसमा स्नातकोत्तरसम्म पढाइको व्यवस्था हुँदै छ। नगरपालिकाको सहयोगमा भौतिक संरचनासँगै शैक्षिक अवस्थामा निकै सुधार आएको क्याम्पस प्रमुख गंगाबहादुर भुजेल बताउँछन्।
नगरपालिकाले वडाहरूको सहयोगमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ।
'कम्तीमा आन्तरिक परीक्षामा सामेल विपन्न ९/१० क्लष्टरबाट छात्रवृत्ति दिइरहेका छौं। नगरपालिकाको सहयोगमा पुस्तकालय, हल र कम्पाउन्डभित्रका अन्य संरचना बनेका छन्,' भुजेलले भने, 'क्याम्पसका लागि २०७८/७९ को बजेटमा ३० लाख रूपैयाँ छुट्टयाइएको छ। अहिले गर्न बाँकी भनेको अनलाइन कक्षा सञ्चालनका लागि थप पूर्वाधार र उपकरणको व्यवस्था हो।'
टाढाबाट आउने विद्यार्थीका लागि नगरपालिकाले दुईवटा बस खरिद गरिदिएको छ। विद्यार्थीले निःशुल्क बस सेवा पाइरहेको मेयर प्रसाईंले बताए।
उनी शिक्षामा भएको सुधारलाई आफ्नो कार्यकालको महत्वपूर्ण काम मान्छन्।
'पहिले सरकारी विद्यालयप्रति जनताको विश्वास थिएन। जो अभिभावक सक्षम छन्, उनीहरूले सरकारी स्कुलमा छोराछोरी पढाउनै मानेका थिएनन्,' उनले भने, 'आठ सय विद्यार्थी भएको नमूना स्कुलमा अहिले दुई हजार विद्यार्थी छन्। विद्यार्थी धान्न नसकेर भर्ना नै बन्द गर्नुपर्ने अवस्था आइसकेको छ।'
नगरपालिकाभित्र छवटा माविसहित २३ वटा विद्यालय रहेको र ती सबैमा विद्यार्थी भरिभराउ रहेको उनले बताए।
यति मात्र होइन, शिक्षकको नियमितताका लागि सबै विद्यालयमा डिजिटल हाजिरी, मन्टेसरी कक्षा र अंग्रेजी माध्यमबाट पढाइको व्यवस्था गरिएको छ। शैक्षिक सुधारकै प्रयासस्वरूप चारवटा विद्यालय गाभिएका छन्।
तर हरिवन नगरपालिकाले गरेका विकास सबै टोलमा पुगेको छैन।
घुर्कौलीका रामबाबु महतोले अरूतिरका विद्यालय सुधार भएको सुने पनि आफ्नो गाउँमा खासै सुधार नदेखिएको बताए।
'अर्को टोलमा पहिलेभन्दा राम्रो पढाइ हुन्छ रे। तर हाम्रो टोलको विद्यालयका लागि मेयर साहेबले केही गर्नुभएको छैन। न शिक्षक समयमा आउँछन्, न विद्यार्थी पढ्न जान्छन्,' उनले भने।
मेयर प्रसाईं भने शिक्षामा सुधार गर्न निकै चुनौती सामना गर्नुपरेको अनुभव सुनाउँछन्।
'एक्लैले मात्र गरेर सुधार हुँदैन तर अभिभाकलाई सम्झाउनै मुस्किल। फेरि मास्टर सबै नेता छन्। भोट बिच्केलान् भनेर फकाएर काम गराउनुपर्छ,' उनले भने।
उनले राम्रो काम गर्ने शिक्षकलाई पुरस्कार र नगर्नेलाई दण्ड व्यवस्था गरिएको बताए।
२०७१ जेठ १ गते सरकारले तत्कालीन अत्रौली, सासापुर, घुर्कौली र हरिवन गाविस गाभेर नगरपालिका गठन गरेको थियो। एघारवटा वडा रहेको पालिकामा १० हजार ६९ घरधुरी छन्। पूर्व–पश्चिम राजमार्गले चिरिएको हरिवन नगरपालिकाको जनसंख्या ४२ हजार ७ सय ८३ रहेको तथ्यांक छ।
विकासमा पछि परेको हरिवन नगरपालिका पछिल्लो चार वर्षमा मधेस प्रदेशकै नमूना बनेको स्थानीय बताउँछन्।
यो नगरपालिकाले भौतिक पूर्वाधारमा फड्को मारेको देखिन्छ। पहिले खाल्डाखुल्डी र हिलाम्मे देखिने सडक पक्की बनेपछि गाउँटोलको स्वरूप फेरिएको छ।
प्रसाईंले नेतृत्व सम्हाल्नुभन्दा पहिले नगरपालिकामा ९ सय मिटर सडक ढलान र १२ किलोमिटर मात्र कालोपत्रे थियो। चार वर्षयता संघीय सरकारको समेत सहयोगमा ८२ किलोमिटर कालोपत्रे र ७ किलोमटर सडक ढलान थपिएको छ।
'यी सबै रोडमा खाल्डाखुल्डी र हिलो जम्थ्यो। टायर गाडाले ३० क्विन्टल उखु पनि तान्न सक्दैनथ्यो,' वडा नम्बर ८ स्थित पाखरिन टोलमा सडकको छेवैमा टायर गाडामा उखु लोड गर्दै गरेका दुखा साहले भने, 'अहिले हामी ४५/५० क्विन्टलसम्म बोकेर चिनी मिल लान्छौं।'
'पहिले पानी परेपछि हिलोमा गाडी फस्थ्यो, अहिले गोरू दौडेर जान्छ,' दुखाले खुसी हुँदै भने।
नगरपालिकाले गाडिदिएको बोरिङबाट अघिल्लो वर्षभन्दा राम्रो उखु उब्जिएको पनि उनले सुनाउन भ्याइहाले।
पक्की सडक पुगेपछि यहाँको जग्गाको भाउ बढेको छ। यसले सर्वसाधारण लाभान्वित भएका छन्। हिजो बैंकले १० लाख ऋण दिने ठाउँमा अहिले ५० लाखसम्म दिइरहेको प्रसाईंले बताए।
अर्कातिर नगरपालिकाले वडा नम्बर ८ स्थित बगरमा तटबन्ध हालेर औद्योगिक ग्राम निर्माण गरिरहेको छ। आठ बिघा क्षेत्रफलमा १ करोड ३२ लाख रूपैयाँ लगानीमा बनाउन लागेको औद्योगिक ग्राम फागुनसम्म सञ्चालन गर्ने योजना छ। नगरपालिकाले यो जग्गा प्लटिङ गरेर उद्योग सञ्चालनका लागि सुलभ दरमा भाडामा दिने छ। बिजुली, सडक, खानेपानी लगायत सुविधा पनि दिने भनेको छ।
औद्योगिक ग्रामबाट ५० घरपरिवारले रोजगारी पाउने मेयर प्रसाईंले दाबी गरे।
'हाम्रो जिल्लामा कृषि उत्पादन धेरै छ। त्यसलाई औद्योगिकीकरण गरी ब्रान्ड बनाउने लक्ष्य छ। यसले किसानको आय बढ्छ,' उनले थपे, 'हरिवनमा आँप धेरै फल्छ। त्यसको अचार बनाएर ब्रान्ड बनाउने, माहुरीपालन गरेर ब्रान्ड बनाउने, टमाटर, काउली लगायत सबैलाई ड्राई फुड बनाउने, मुडा बनाउनेदेखि अनेक खालका उद्योग सञ्चालन गराउने र यहाँका उत्पादनको बजार विस्तार गर्ने काममा हामी लागिरहेका छौं।'
कृषिका लागि उर्वर भूमि मानिने यस पालिकाका ९० प्रतिशतभन्दा बढी व्यक्ति खेतीपातीमा आश्रित छन्। यहाँ उखुको राम्रो उब्जनी हुन्छ।
वडा नम्बर १, अत्रौलीका विसुन्देव सिंह कृषि क्षेत्रमा नगरपालिकाले सन्तोषजनक काम गरेको बताउँछन्।
'पहिले पानी अभावले सिँचाइ गर्न समस्या थियो। अहिले पालिकाले खेतमा बोरिङ दिएपछि उब्जनी बढेको छ, सडक पनि बनेकाले खेतमा गाडी लैजान सजिलो भएको छ,' उनले भने।
सिँचाइका लागि यहाँ विभिन्न स्थानमा नाला निर्माणसँगै डिप बोरिङ गाड्ने काम भएका छन्। असी बिघा क्षेत्रफलमा सिँचाइ पुग्ने गरी १५ वटा डिप बोरिङ गाडिएको छ। चालू आर्थिक वर्ष थप बोरिङ गाड्ने नगरपालिकाको योजना छ।
नगरपालिकाले सडक निर्माण र सिँचाइसँगै अनुदानमा कृषि सामग्री तथा औजार वितरण गरेको छ। यहाँका किसानले मुख्यतः दुई सिजनमा मकै उब्जाउँछन्। मकै पकेट क्षेत्र घोषणा भएको वडा नम्बर २ मा गत वर्ष ४० लाख रूपैयाँ विनियोजन गरी उन्नत जातका मकै तथा कृषि औजार अनुदानमा बाँडिएको थियो। उनीहरूलाई हाते ट्रयाक्टर, थ्रेसर लगायत औजार वितरण गरिएको नगरपालिकाले जनायो।
वडा नम्बर २ की किसान चिनमाया घिसिङले पनि नगरपालिकाको सहयोगमा यसपालि उब्जनी बढेको बताइन्।
'सिँचाइ र उन्नत बीउ पाएकाले प्रतिकठ्ठा ५ मनसम्म मकै उत्पादन भएको छ। पहिले तीन मन मात्रै हुन्थ्यो। समूहबाट हामीले आधा दाममा मोटर, खाद्य, औषधि छर्किने पम्प पाएका छौं,' उनले भनिन्।
उनको टोलतिर कालोपत्रे सडक भने पुगेको छैन। कालोपत्रे गर्ने भनिए पनि काम सुस्त भइरहेको र यसले धूलो उडेको उड्यै गर्ने उनले गुनासो गरिन्।
वडा नम्बर २ का किसान तमारसे मुक्तान पनि नगरपालिकासँग रूष्ट छन्। सात बिघामा खेती गरेका उनको खेतमा सिँचाइ सुविधा पुगेकै छैन।
'सडकको दक्षिणपट्टि लखनदेही खोलाबाट पानी आउँछ तर हाम्रोतिर सिँचाइका लागि मेयर साहेबले केही गर्नुभएन। केन्द्रका नेताले मरिन डाइभर्सनबाट पानी ल्याउने भन्नुभएको थियो। त्यसको पनि अत्तोपत्तो छैन,' उनले भने, 'खाद्य चाहिएका बेला खाद्य पाइँदैन। दोब्बर दाममा डिएपी, युरिया र पोटास किन्नुपरेको छ। मकैको बीउ पनि किलोको ३ सय बढी तिर्नुपर्छ।'
नगरपालिकाले दिएको अनुदान ५० प्रतिशत किसानले मात्र पाएको उनले बताए।
मेयर प्रसाईंले भने चालू आर्थिक वर्ष छुटेका किसानलाई अर्कोचोटि अनुदानमा कृषि सामग्री, खाद्य तथा बीउबिजन वितरण गरिने बताए।
पशुपालन गर्ने किसानलाई समेत फर्म सञ्चालनका लागि नगरपालिकाले आर्थिक सहयोग गरेको उपमेयर रेणुका पौडलले जानकारी दिइन्। 'विदेशबाट फर्किएका युवालाई वस्तुभाउ पाल्न हामीले सशर्त ५/७ लाख दिने गरका छौं। गोठ बनाइदिने गरेका छौं,' उनले भनिन्।
नगरपालिकाले हरिवनमा आधुनिक बजार निर्माणको काम पनि गरिरहेको छ। बजार व्यवस्थित बनाउन १४६ वटा सटरसहितको भवन निर्माण भइरहेको छ। नगर विकास कोषको ९० प्रतिशत ऋण सहयोगमा बनिरहेको उक्त भवन अन्तिम चरणमा छ। १३ करोड रूपैयाँ लागतमा निर्माण भइरहेको व्यापारिक भवनले व्यवसाय गर्न सहज हुनुका साथै नगरको आय बढ्ने नगरपालिकाका इन्जिनियर जकी अहमद सिद्धिकीले बताए।
हरिवनमा अव्यवस्थित बसाइ रोक्न नगरका सडक कम्तीमा २० फिट फराकिलो हुनैपर्ने नीति ल्याइएको छ।
'बीस फिटभन्दा कमको बाटो कुनै नक्सामा पास हुँदैन। कम्तीमा दुईवटा गाडी ओहोरदोहोर गर्न मिल्ने हुनुपर्छ। बजारमा ७ धुर र गाउँमा कम्तीमा १० धुरभन्दा कममा कित्ताकाट गर्न नपाइने निर्णय गरेका छौं,' मेयर प्रसाईंले भने, 'यो हामीले आजका लागि होइन, ५० वर्षपछिका लागि गरेका हौं।'
उपमेयर पौडेलले महिला सशक्तीकरणका लागि गरेका पहलको फेहरिस्त पनि सुनाइन्।
'महिलालाई आत्मनिर्भर बनाउन दालमोठ बनाउने, कपडा सिउने, अचार बनाउने, मैनबती बनाउने लगायत तीनमहिने सीपमूलक तालिम दिएका छौं। तीमध्येबाट धेरैले काम गरेर जीविकोपार्जन गर्दैछन्,' उनले भनिन्, 'छात्राका लागि लोकसेवा तयारी र कम्प्युटर कक्षा निःशुल्क गरेका छौं। पढेर सरकारी सेवामा जान यसले निकै सहयोग पुग्छ।'
महिला हिंसा न्यूनीकरणका लागि न्यायिक समितिमार्फत् प्रयास गरिरहेको उनले बताइन्।
'कतिपय पालिकामा उपमेयरलाई मेयरले गन्दै नगन्ने, वास्तै नगर्ने प्रवृत्ति देखेँ। हाम्रो पालिकामा त्यस्तो छैन। मलाई जति अधिकार दिइएको छ, म त्यसको भरपुर सदुपयोग गरिरहेकी छु,' उनले थपिन्।
नगरपालिकाको विकास निर्माणमा केन्द्रले सहयोग गरे पनि प्रदेश सरकारबाट भने सहयोग नपाएको मेयर प्रसाईंले गुनासो पोखे।
'प्रदेश सरकारले सडक ग्राभेल गर्ने होइन, हामीसँग सहकार्य गरी ठूल्ठूला योजनामा ध्यान दिनुपर्थ्यो। माटो परीक्षणका लागि ल्याब बनाइदिनुपर्थ्यो। अस्पताल, भेटेरिनरी बनाइदिनुपर्थ्यो,' उनले भने, 'तर गरेन।'
डिजिटल नगरपालिका बनाउने अभियानस्वरूप सबै वडा कार्यालयमा राजस्व बुझाउन सकिने व्यवस्था गरिएको उनले बताए। 'अब जनताले घरबाटै अनलाइन प्रविधिबाट घरबहाल, मालपोत लगायत सबै कर तिर्न सक्ने व्यवस्था गरेका छौं,' प्रसाईंले भने।
त्यस्तै, वडानम्बर १ स्थित कैलाशपुरीमा हजार वर्ष पुरानो मन्दिरको सौन्दर्यीकरण गरी फनपार्क निर्माण अघि बढाएको नगरपालिकाका इन्जिनियर सिद्धिकीले जानकारी दिए।
'पहिलेका जस्ता संरचना छन्, त्यसमा केही नबिगारी क्याफ्टेरिया, पिकनिक स्पटसहितको पार्क निर्माण हुँदैछ। त्यसले नगरपालिकको आयस्रोत बढ्छ,' उनले भने।
त्यहाँ झोलुंगे पुल, मिनी चिडियाखाना, जिपलाइनसमेत निर्माण हुने मेयर प्रसाईंले बताए। यसको निम्ति ५ करोड रूपैयाँको ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए।
यी पनि हेर्नुहोस्: