नेकपा एमाले झापाको दसौं जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक कार्कीसहित सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चुनिएका छन्। कार्की सविधान सभाका सदस्य हुन्।
शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्ता गराएका दीपक कार्कीसहितका सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत चुनिएका हुन्।
उम्मेदवारी दर्ताको काम सकिएको छ।
१५० सदस्यीय जिल्ला कमिटीमा ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्। तर, सर्वसम्मत भएका उम्मेदवारहरूको नामावली घोषणा गर्न बाँकी छ।
निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको अन्तिम नामावली प्रकाशनको तयारी थालेको छ।
समितिलाई नामावली प्रकाशन गर्न ९ बज्ने बुझिएको छ।
अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्षमा गोपाल बुढाथोकीले उम्मेदवारी दर्ता गराए पनि फिर्ता लिएका छन्। उपसचिवमा रेनुका डाँगीको चर्चा भए पनि उनी मापदण्डमा नपरेका कारण उम्मेदवार बनिनन्।
यस्तै, पत्रकारका तर्फबाट मोहन काजी न्यौपाने सर्वसम्मत भइसकेका छन्। पत्रकार कोटामा प्रेस चौतारी झापाले सहमतिबाट काजीलाई अघि बढाएको थियो। सो कोटामा उनको बाहेक उम्मेदवारी परेको छैन। भूमिहीन संगठनबाट टिकाराम मंग्राती एक जनाले मात्रै उम्मेद्वारी दिएका छन्।