विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टी मिलाएर नयाँ पार्टी गठन गर्न सकिने प्रस्ताव ल्याएका छन्।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री धवलशमसेर राणासँगको भेटमा पार्टी एकताको विषयमा छलफल भएको थियो।
त्यो छलफलका क्रममा मिश्रले दुबै पार्टी मिलाएर नयाँ विकल्पमा जानुपर्ने प्रस्ताव गरेका हुन्।
‘विवेकशील साझा राप्रपामा मिसिन सक्दैन, राप्रपा विवेकशील साझामा आउन सक्दैन,’ मिश्रले सेतोपाटीसँग भने, ‘मैले राखेको कुरा दुबैको सहमतिमा नयाँ विकल्प जान सकिन्छ, नयाँ शक्ति सिर्जना गर्न सकिन्छ।’
तर, यो सहज भने नरहेको मिश्रले बताए।
भेटमा राजनीति, समाज र देशको भविष्यबारे चिन्ताजनक र आशापूर्ण कुरा चलेको बताउँदै मिश्रले भने, ‘यो एक किसिमको शिष्टाचार भेट पनि थियो।
समान विचार भएका पार्टीहरूबीच एकता गर्नका लागि राप्रपाले राणाको नेतृत्वमा समिति गठन गरेको छ। त्यसले विभिन्न पार्टीहरूसँग एकताका लागि वार्ता गरिरहेको छ।
सोही क्रममा मिश्रसँग भेटघाट गरी छलफल अगाडि बढाइएको राप्रपाका महामन्त्री धवलशमसेर राणाले बताए।
राप्रपा तीस वर्ष लामो राजनीतिक पृष्ठभूमि बोकेको पार्टी हो भने विवेकशील साझा नयाँ अनुहार भएका व्यक्तिहरूको पार्टी हो।
तर, विवेकशीलले गएको संसदीय चुनावमा राप्रपाभन्दा बढी भोट ल्याएको थियो। उसले प्रत्यक्षतर्फ एक लाख र समानुपातिकतर्फ दुई लाख १२ हजार भोट ल्याएको थियो।
राप्रपामा लामो राजनीतिक इतिहास बोकेका नेता, पूर्वमन्त्रीहरू छन्। यसकारण दुबै पार्टी एकता गरेर मिश्रलाई सम्मानजनक ठाउँ दिन राप्रपालाई चुनौती छ।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ। पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन्। उनले संघीयताको विरोध गर्दै आएका छन्।
एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए।