एमाले उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्नि सापकोटाले आफूलाई नसच्याए राजीनामा दिनुपर्ने बताएका छन्।
एमालेनिकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशनमा बोल्दै उपाध्यक्ष पौडेलले एमालेले कारबाही गरेका सांसदहरूलाई निलम्बन गर्ने सूचना जारी नगरेमा राजीनामा दिनुपर्ने बताए।
उनले सभामुख सापकोटाले पार्टीको कार्यकर्ताजस्तो बनेर एमाले विभाजन गरेको आरोप समेत लगाए।
'सभामुखमा कोही पनि व्यक्ति निर्वाचित भएपछि ऊ स्वतन्त्र र निष्पक्ष हुन्छ। ऊ तटस्थ भूमिकामा रहन्छ। तर हाम्रो सभामुख दल विशेषको कार्यकर्ताको हैसियतले संविधान र कानुनको व्यवस्थालाई ठाडो उल्लंघन गरेका छन्,'उनले भने,'एमालेजस्तो राजनीतिक दललाई विभाजन गर्नका निम्ति सभामुख पदको दुरूपयोग गरेर पदीय हैसियतको दुरूपयोग गरेर नांगो र निर्वस्त्र ढंगले उभिएका छन्।'
सभामुखले कि त आफूलाई सच्याउनु पर्ने कि त राजीनामा दिनुपर्ने आफूहरूको माग भएको उनले बताए।
'संविधानसम्मत ढंगले नचल्ने सभामुखलाई हामी सभामुख मानेर अघि बढ्न सक्दैनौं। या त सभामुखले आफूलाई सच्याउनपर्यो या त सभामुख पदमुक्त हुनुपर्यो अन्य अवस्थामा यो संसद चल्न सक्दैन।'
नाराबाजी भइरहेको अवस्थामा मन्त्रीहरू लुकेर रोष्ट्रममा पुग्ने गरेको भन्दै उनले सभामुखले नौटंकी ढंगले चलाएको आरोप लगाए।