नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सल्यान जिल्ला सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन्
प्रतिस्पर्धी धुर्वराज पुरीलाई ५ मत अन्तरले पराजित गर्दै विष्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
जिल्ला समन्वय समिति सल्यानका सभापति समेत रहेका विष्टले ६१२ मत प्राप्त गरेका थिए भने कांग्रेस सल्यानका पूर्वजिल्ला सभापति पुरीले ६०७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।
विष्ट संस्थापन पक्षधर हुन भने पराजित पुरी संस्थापन इतरका हुन्।
सभापति विष्टको प्यानलबाट उपसभापति सन्तोष केसी र सचिवमा एकराज बुढाथोकी विजय बनेका छन्।
छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष केसीले ६२८ मत प्राप्त गरेका थिए। यो प्यानलबाट सचिव बुढाथोकीले ५५९ मत प्राप्त गरी विजयी भएका छन्।
त्यस्तै, पुरी प्यालनबाट उपसभापतिमा चक्रबहादुर देवकोटाले ५९६ मत र सचिवमा सचिव प्रकाश भण्डारीले सर्वाधिक ७०३ मत प्राप्त गरी विजयी भए।
यही प्यानलबाट सहसचिव पदमा जनकराज गौतम र पदम बहादुर बुढाथोकी विजयी भएका छन्। गौतमले ६३४ र बुढाथोकीले ५७५ मत प्राप्त गरेका थिए।
पुरी प्यानलका उपसभापति पदका उम्मेदवार डिल्लीबहादुर बुढाथोकी र सचिव पदका उम्मेदवार लोकराज आचार्य पराजित भए। बुढाथोकीले ५६३ मत र आचार्यले ४९७ मत प्राप्त गरेका थिए।
त्यस्तै, विष्ट प्यालनका गोपाल बुढाथोकी उपाध्यक्षमा र सचिवका उम्मेदवार दिल्लीप्रसाद जैसी पराजित भए। उपाध्यक्षमा पराजित बुढाथोकीले ५०७ मत र सचिवमा पराजित जैसीले ५३१ प्राप्त गरेका थिए।
यो प्यालनका सहसचिव पदका उम्मेदवार बुद्धि प्रकाश हमालले ५६४ र खिमबहादुर रावतले ५६९ मत प्राप्त गरे।
जिल्ला कार्यसमिति सदस्य र संघीय महाधिवेशन प्रतिनिधिहरूको मत गणना जारी नै रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ।