प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले गरिरहेको आन्दोलनमा बृहत नागरिक आन्दोलन र विभिन्न पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाउने भएका छन्।
प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उनको राजीनामा माग भइरहेको छ। न्यायालय शुद्धिकरणका लागि भन्दै आन्दोलन भइरहेको छ।
सर्वोच्च परिसरमा तीन साताभन्दा लामो समयदेखि नेपाल बार एशोसिएसन आन्दोलनमा छ। सर्वोच्चका न्यायाधीशहरू पनि बन्दी प्रत्यक्षीकरणबाहेक अन्य इजलास बसेका छैनन्।
बारको आन्दोलनमा पटकपटक प्रहरीले हस्तक्षेप गरेको छ। केही कानुन व्यवसायी पनि घाइतेसमेत भएका छन्।
यो पनि: कानुन व्यवसायीलाई आक्रमण गर्न 'भिजिलान्ते' प्रयोग गरिएको भन्दै बारले गर्यो निन्दा (भिडिओ)
यसैबीच नेपाल बारले गरिरहेको आन्दोलनमा अब बृहत नागरिक आन्दोललगायतले पनि सहकार्य गर्ने भएका छन्।
अहिलेसम्म सर्वोच्च परिसरमा केन्द्रित आन्दोलन अब बाहिर पनि फैलने देखिएको छ।
बृहत नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल चिकित्सक संघसहित नागरिक तथा पेशागत शक्तिहरूले बिहीबार नेपाल बारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहकार्य गर्दै साझा आन्दोलन गर्नेबारे छलफल गरेका छन्।
यसबारे सहकार्य गरेर जाने विषयमा छलफल गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए।
नेपाल बारको आन्दोलनमा समर्थनसहित सहकार्य र साझेदारीसाथ साझा आन्दोलनमा जाने विषयमा छलफल भएको छ।
यो पनि: सर्वोच्चमा गोलाप्रथा लागू गर्ने फुल कोर्टको निर्णय, प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार खोसियो