प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै आन्दोलनमा ओर्लिएका वकिलहरूलाई आक्रमण गर्न 'भिजिलान्ते' प्रयोग गरिएको भन्दै नेपाल बार एसोसिएसनले निन्दा गरेको छ।
बिहीबार आफ्नो धर्ना सकिएपछि बार परिसरमा तीन-चार जना 'भिजिलान्ते' आएर वकिलहरूमाथि आक्रमण गरेको बारले जनाएको छ।
'आजको विरोधसभाको समापनपश्चात तीन-चार जना बिचौलिया र भ्रष्टका मतियारहरू नेपाल बार एसोसिएसनको परिसरमा अनधिकृत रूपमा प्रवेश गरी कानुन व्यवसायीहरूलाई अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जतसमेत गर्ने प्रयास भएको घटनाको समेत निन्दा गर्दछौं,' नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बिचौलिया र भिजिलान्तेबाट कुनै पनि कानुन व्यवसायी आक्रमण तथा असुरक्षाको अवस्था उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने कुराको चेतावनी पनि दिन चाहन्छौं।'
नेपाल बारले प्रधानन्यायाधीश राणाले अदालत परिसरलाई युद्ध मैदान बनाएको आरोप पनि लगाएको छ। बारले यस विषयमा पत्रकार सम्मेलनसमेत गरेको थियो।
अहिले नेपाल बार प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलित छ। बारले राणालाई छेक्न गएको सातादेखि मूलगेटमा धर्ना दिँदै आएको थियो। तर राणा अर्को गेटबाट सर्वोच्च प्रवेश गर्थे। बिहीबार भने बारले अर्को गेटमा पनि धर्ना दिने योजना लिएको थियो।
वकिलहरू नाराबाजी गर्दै अघि बढेपछि दंगा प्रहरीले बाटो छेकेको थियो। प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष श्रेष्ठसहित केही कानुन व्यवसायी घाइते भएका थिए।
आन्दोलन कार्यक्रममा दंगा प्रहरी प्रवेश गराउनुका साथै एसएलआर बन्दुक बोकेका हतियारधारी प्रहरी पहिलोपटक अदालतमा प्रवेश गरेको भन्दै बारले विरोध जनाएको छ।
'आज पहिलोपटक दंगा प्रहरीका साथै एसएलआरजस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं,' श्रेष्ठले भनेका छन्, 'अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ।'
प्रहरी र वकिलहरूबीच घम्साघम्सी हुँदा अध्यक्ष श्रेष्ठ सामान्य घाइते भएका छन्। त्यस्तै बारका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश महर्जन टाउकोमा गम्भीर चोट लागेर अस्पताल भर्ना भएका छन्।
वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, सर्वोच्च बार एसोसिएसनका सचिव अधिवक्ता ऋषिराम घिमिरे, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, युवराज बन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण तथा उच्च अदालत बार पाटनका सदस्य अधिवक्ता गोपाल सापकोटा लगायत धेरै कानुन व्यवसायी घाइते भएको बारले जनाएको छ।
आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघ-संस्थाहरूलाई आह्वान गरिएको छ।
त्यस्तै, अदालत परिसरबाट भोलिदेखि नै दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको ध्यानाकर्षण गराइएको छ।