नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरूको माग सम्बोधन नभए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन्।
सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अब बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे पार्टी केन्द्रीय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिएका हुन्।
उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रूपमै पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई लिखित रूपमै उजुरी गर्दा पनि त्यसको सुनुवाइ नभई सत्ता र शक्तिको दुरूपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे।
उनले भने, ‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशन खारेज गरी नयाँ अधिवेशनको मिति तय गरी दिनका लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय कार्य समितिमा सप्रमाण उजुरी मात्रै पेस गरेनौं। जबकि ११ दिनसम्म नेपाली कांग्रेसको कार्यालय डडेल्धुरामा सिंगो पार्टी अनसन बस्यो। उक्त अनसनको कार्यक्रमलाई डडेल्धुराका हजारौं पार्टी कार्यकर्ताले र महत्वपूर्ण केन्द्रीय नेताज्यहरूको समर्थन र ऐक्यवद्धता हुँदाहुँदै हालसम्म हाम्रा माग कहीँकतै सुनुवाइ नभइसकेपछि नेपाली कांग्रेस डडेलधुराको मिति २०७८ कात्तिक २२ गतेको बैठकबाट डडेल्धुरा जिल्लाको सिंगो अभिभावकत्व दिनका लागि हार्दिक अनुरोध गर्दै सम्माननीय प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाजीलाई लिखित पत्र पठाएर आग्रह गरेका छौं। आगामी बस्ने केन्द्रीय कार्य समितिको बैठकमा हाम्रो मागलाई सम्बोधन नगरिए मिति २०७८ मंसिर १ गतेदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रम अगाडि बढाउने व्यहोरासमेत यसैप्रेस विज्ञप्तिमार्फत् जानकारी गराउँदछौं।’
सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरूको मागको सुनुवाइ समेत नगरेको भन्दै आपत्ति जनाए।
उनले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरू हुने तर डडेल्धुरामा किन नहुने भन्दै पार्टीका केन्द्रीय सभापति देउवा र केन्द्रीय निर्वाचन समितिलाई प्रश्न समेत गरे।
सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशन मान्य नहुने अडान समेत दोहोर्याए।
नेपाली कांग्रेसको वडा अधिवेशन हुन नसकेका जिल्लामा शनिबार सुरू भएको छ।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।