प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी चार दिने भारत भ्रमणमा जान लागेका हुन्।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुसार उनलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको छ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन्।
भ्रमण सकेर शर्मा शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।