बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाललाई आयआर्जनको स्रोत बनाउन सकिने बताएका छन्।
बुधबार पुष्पलाल स्मृति प्रतिष्ठान कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई आयआर्जनको गतिलो स्रोत बनाउन सकिने बताएका हुन्।
उनले विश्वका २ सयभन्दा बढी देशमा उत्पादन हुने चिजहरू नेपालमा नै बनाउन सकिने दाबी गर्दै अब नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताए।
मुख्यमन्त्री पाण्डेले ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न विदेश गएको बताउँदै देश विकासको लागि युवाहरूलाई अघि बढाउनुपर्ने आवश्यक रहेको बताए।
मुख्यमन्त्री पाण्डेले भने, ‘क्षमता बेचेर सुख सुविधा दिएर आर्जन गर्ने क्षेत्र हो, हामीसँगै चिज छन् तर बेच्न नजानेर हामी गरिब भएका छौं, पैसाले हुने भए सगरमाथा युरोपतिरै जन्माउँथे यहाँ चढ्न किन आउँथे, ४ धार्मिक सम्प्रदायमध्ये २ वटा धार्मिक सम्प्रदायको नेता नेपालमै छन्, पशुपतिनाथ र गौतम बुद्ध, विश्वको २०० भन्दा बढी देशमा उत्पादन हुने चिज सबै नेपालमै उत्पादन हुन्छ, तर हामी रोजगारी खोज्न ४० लाख नेपालीहरू विदेशमा छौं, हामी हाम्रै देशमा आर्जनको स्थल बनाउन सकिन्छ, आगो हातमा लिएर उज्यालो खोज्न हिँड्या छौं, देशका युवाहरूलाई बुझ्न जरूरी छ।’
मुख्यमन्त्री पाण्डेले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई एमालेजस्तो बनाउन दिन नहुने बताए। जति प्रगति भए पनि दम्भ, अहंकार र घमण्ड गर्नु नहुने तर्क गर्दै मुख्यमन्त्री पाण्डेले सबभन्दा ठूलो जनता भएको र जनताले माया गरून्जेलसम्म राजनीतिक पार्टीहरू ठूलो भएको तर्क गरे।