नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेतृत्वमा बस्नेहरूले आफूले जे गर्यो त्यो ठिक भन्ने प्रवृत्ति रहेको बताएका छन्।
कांग्रेस सूर्यविनायक नगरपालिका ३ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वडादेखि केन्द्रसम्म नेतृत्वले सबैसँग संवाद गरेर अघि बढ्न नखोज्ने गरेको बताए।
‘नेता रिसाउँछ कि भनेर सत्य नबोल्ने प्रवृत्ति कांग्रेसभित्र छ। यो सबैभन्दा घातक प्रवृत्ति हो,’ उनले भने, ‘त्यो प्रवृत्ति सुधार गर्न सकिएन भने कांग्रेसमा सुधार आउन सक्दैन।’
कांग्रेसभित्र नेतृत्वमा बसेकाहरूले अरूसँग संवाद नै नगर्ने पनि उनले बताए। ‘मैले जे गर्यो त्यो ठिक भन्ने प्रवृत्ति कांग्रेसभित्र छ। म पनि एक तहको नेतृत्वमा छु। वडादेखि केन्द्रसम्मको नेतामा अरूसँग संवाद गर्ने प्रवृत्ति छैन,’ उनले भने, ‘अधिनायकवादका विरूद्ध लड्नुपर्छ भन्ने चेतना कार्यकर्तामा हुनुपर्छ।’
गुटको प्रभावमा बेठिकलाई पनि ठिक भन्ने प्रवृत्ति कायरतावादी भएकोले सत्य र न्यायका पक्षमा अगाडि बढ्नुपर्ने उनले बताए।