नेकपा माओवादीका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धनबाट संविधान विरोधी र अन्तर्राष्ट्रिय केही शक्ति खुसी नभएको बताएका छन्।
प्रेस सेन्टर नेपाल दाङको चौथो जिल्ला अधिवेशनलाई मंगलबार घोराहीमा सम्बोधन गर्दै प्रवक्ता महराले देशलाई संविधानको ट्रयाकभन्दा बाहिर जान नदिनका लागि बनेको पाँच दलीय गठनबन्धन देखेर देशभित्रका संविधान विरोधीहरू सँगै केही बाह्य शक्ति राष्ट्रहरू दुःखी बनेको बताएका हुन्।
‘देशलाई असंवैधानिक गतिविधिबाट जोगाउन लागि गठबन्धन बन्दा संविधान विरोधी र विदेशी केही शक्ति लागि टाउको दुखाइको विषय बनेको छ,’ उनले भने।
ती शक्तिले देश र जनताको समृद्धि नचाहेको भन्दै उनीहरूबाट सचेत रहनुपर्ने नेता महराले बताए।
उनले देशमा अस्थिरता चाहने शक्तिका कारण अहिले पनि खतरा रहेको तर्क गरे।
उनीहरूबाट सचेत भएर अघि बढ्न आवश्यक रहेको महराको भनाइ थियो।
जनआन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकाससँगै देशलाई असंवैधानिक गतिविधिमा धकेल्न खोज्ने शक्तिलाई परास्त गर्न बनेको पाँच दलीय गठबन्धन अहिले राजनीतिक केन्द्रमा रहेको हुँदा धेरैका लागि टाउको दुखाइको विषय बनेको उनले बताए।
महराले देश र संविधानको रक्षासँगै जनताको समृद्धिका लागि पत्रकारलाई कलम चलाउन आग्रह गरे।
विदेशमा देशको राष्ट्रियता संकटमा पर्दा सञ्चारमाध्यम एकजुट भएर अघि बढ्ने अभ्यास रहेको भन्दै महराले देशको राष्ट्रियताको लागि सञ्चारमाध्यम एकजुट हुनुपर्ने बताए।