नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनबाट एमाले फेरि पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएर उदाउने र एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्।
निर्वाचन जित्न एमालेलाई कसैको वैशाखी नचाहिने भन्दै उनले निर्वाचनमा अहिलेको गठबन्धन मिलेर चुनाव लडे पनि उनीहरूमा एमालेलाई पराजित गर्ने ताकत नभएको दाबी गरे।
एमाले तिलोत्तमा रूपन्देहीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले भने,‘तपाईंहरू डायरी र मोबाइलमा टिपेर राख्नुस्, आगामी निर्वाचनमा एमाले एक्लैले चुनाव जित्ने छ, संघमा एक्लै बहुमतको सरकार बनाउने छ, प्रदेशमा पनि अधिकांश प्रदेश सरकार एमालेका हुने छन्, स्थानीय तहमा त ६० प्रतिशतभन्दा बढी स्थानमा एमालेले जित्ने छ,’ उनले ठोकुवा गरे।
पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले एमाले सबभन्दा बढी सुल्झिएको पार्टी भएको उल्लेख गर्दै मुलुक बनाउने हो भने एमालेको नेतृत्व हुनु अनिवार्य रहेको बताए।
नेता पौडेलले सरकार र संसदका अहिलेका गतिविधि हेर्दा संसद विघटन गर्नु सही त थियो भन्ने पुष्टि भइसकेको बताए।
उनले निर्वाचनका विषयमा गठबन्धनमा रहेकाहरू आपसमै रुमल्लिएको समेत आरोप लगाए।
'कसैले पूरै समय बिताएर निर्वाचन गर्ने भनेका छन्, कसैले अगाडि गर्ने भनेका छन्, गठबन्धनका बीचमै निर्वाचनबारे कुनै एकमत छैन', उनले भने, 'निर्वाचन गर्ने दलहरूले नभई निर्वाचन आयोग र सरकारले हो, एमाले जहिले निर्वाचन भए पनि भिड्न तयार छ।’
पौडेलले पार्टी अधिवेशनबाट चयन हुने नेतृत्वले पार्टीको अगुवाइमा भएका विकास निर्माणका कामलाई जनतासामु लैजानुपर्ने समेत बताए।