नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गरेका छन्।
आइतबार एमाले झापा जिल्ला कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
आफूहरूले जिताइदिएका सांसद संख्या गनेर प्रचण्ड-नेपालले फुर्ती गरेको भन्दै आगामी चुनाव नजित्ने ओलीको दाबी थियो।
‘जुँगामा त आफ्नो पो ताउ लगाउनुपर्छ। अर्काले टाँसिदिएको जुँगा। हामीले टाँसिदिएका सांसदमा जुन फुर्तीफार्ती गर्दैछन्। २०-२२ जना होलान्। त्यो हामीले टाँसिदिएको हो,' उनले भने, 'प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो। प्रचण्डले अब जितेर देखाउन् त?'
चुनावमा नउठी नेपाल समानुपातिकमा बस्ने र त्यसमा पनि मत नआउने उनले तर्क गरेका थिए। उनले दुबै नेतालाई चुनाव जितेर देखाउन चुनौती समेत दिएका थिए।
'माधव नेपाल अब चुनाव लड्छन् ? तपाईहरूलाई बताइदिन्छु म, माधव नेपाल चुनाव लड्दैनन्। समानुपातिकमा बस्छन्। आउला र खाउँला भनेर। त्यो हुनेवाला छैन,' उनले भने।
ओलीले अरू नेताहरूलाई एमालेमै फर्किन आग्रह समेत गरेका थिए। यद्यपी माधव नेपाललाई भने एमालेले नलिने स्पष्ट पारे।