सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले विपदका घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विपदबाट मृत्यु भएकाहरूको परिवारलाई प्रतिव्यक्ति २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
एकै परिवारमा एकभन्दा धेरै व्यक्तिको विपदमा परेर मृत्यु भएमा थप एक लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको कार्कीले बताए।
सरकारले बाढीपहिरोले खाद्यान्न बाली, घर तथा पसललगायत क्षति पुगेकालाई पनि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
पाँच जनासम्मको परिवार भए १५ हजार नगद र पाँचभन्दा धेरै सदस्य भएको परिवार भए २० हजार नगद उपलब्ध गराउने निर्णय भएको कार्कीले बताए।