नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढीपहिरो प्रभावितलाई तत्काल राहत व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बाढीपहिरो पीडितलाई उद्धार गर्न पनि निधिको माग छ।
‘यो बिपतको घडीमा तीनवटै सुरक्षा निकायलाई परिचालन गरी उद्धार र राहतको कार्यलाई शिघ्रातीशिघ्र अघि बढाउन संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारको ध्यानाकर्षण गराउँदछु। हिउँद सुरु हुँदै गर्दा परेको बेमौसमी वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित भएका छन्। पहाडी क्षेत्रमा पहिरोमा परी धेरै सर्वसाधारणको मृत्यु भएको छ, कयौं बेपत्ता भएका छन् भने तराईका अधिकांश भूभाग डुबानमा परेका छन्,’ उनले आज विज्ञप्ति निकालेर भनेका छन्।
बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन निधिले सरकारलाई आग्रह गरेका छन्।
साथै यो विपतको घडीमा प्रदेश र स्थानीय सरकारहरुलाई आ-आफ्नो ठाउँबाट उद्धार र राहतमा जुट्न पनि निधिको आग्रह छ।
‘देशभरका पार्टीका साथीहरुलाई पनि बाढीपहिरो पीडितको उद्धारमा जुट्न आह्वान गर्दछु। बाढीपहिरोले खासगरी पश्चिम नेपालका धेरैजसो सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन्। यसैगरी विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सर्बसाधारण मर्कामा परेका छन्। अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल संचालनको व्यबस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनेका छन्।