महिलाको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेकी रूबी खानलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई सर्वोच्चका सहरजिस्ट्रारको रोहवरमा रिहा गर्न आदेश दिएको हो। उक्त आदेशपछि जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेकी खान रिहा भएकी हुन्। सर्वोच्चले खानलाई धरपकड नगर्न पनि आदेश दिएको छ।
घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्दै रूबी खानसहित करिब १४ जनाको टोलीले नेपालगन्जबाट १९ दिन लगाएर काठमाडौंसम्म पैदल यात्रा गरेको थियो। उनीहरू काठमाडौं आएर माइतीघर मण्डलमा धर्ना बसेका थिए।
सरकारले उनीहरूको कुरा सुन्नुको साटो गत शुक्रबार राति धर्नास्थलमा प्रहरी परिचालन गरेर जबर्जस्ती पक्राउ गरेको थियो। प्रहरी पक्राउ गर्न जाँदा उनीहरू कोही खाना खाँदै थिए भने कोही सुतिरहेका थिए। सुतिरहेका र खाना खाइरहेकै बेला प्रहरीले उनीहरूलाई जबर्जस्ती उठाएर लगेको थियो।
त्यसको भोलिपल्ट टोलीकी अगुवा खानलाई नेपालगन्ज फिर्ता पठाइएको थियो।