असोज १५ देखि १७ सम्म गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशन र मंसिर १० देखि १३ सम्म हुने दसौं महाधिवेशनका सन्दर्भमा केन्द्रित रहेर एमाले उपाध्यक्ष भीम रावलसँग हामीले कुराकानी गरेका छौं।
एमालेको दसौं महाधिवेशन आउन अब डेढ महिना पनि बाँकी छैन। तपाईं कुन पदका लागि तयारी गर्दैहुनुहुन्छ भन्दा हतार हुन्छ कि बेला भयो ?
नवौं राष्ट्रिय महाधिवेशनमा हामीले जे निर्णय गरेका थियौं। तदअनुरूप विधान महाधिवेशनबाट विधानमा के-के संशोधन गर्नुपर्ने कसो गर्नुपर्ने भन्ने कुरामा जुन विधान महाधिवेशनको समूह छलफलबाट जुन कुराहरू आएका छन्। त्यसलाई अन्तिम रूप दिएर त्यो विधान हाम्रो हातमा परिसकेको अवस्था छैन।
विधान महाधिवेशनपश्चात त्यसको समीक्षा तुरून्तै गर्नुपर्ने हाम्रो जुन पद्धति,परिपाटी हो त्यो अनुसार समीक्षा भइसकेको पनि छैन। आगामी महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया कसरी अघि जान्छ भन्ने पनि अहिलेसम्म छलफल भएको छैन। यद्यपि छलफल गर्न ढिलो भइसकेको छ। त्यसकारण जबसम्म यस विषयमा प्रष्ट हुँदैन तबसम्म को व्यक्ति केमा उठ्छ, म के गर्छु भन्ने कुरा अहिले नै भनिहाल्ने अवस्था छैन।
तपाईं नवौं महाधिवेशनमा उपाध्यक्ष भइसकेको भएर तपाईंमाथि पनि धेरैको चासो छ नि?
जनता कार्यकर्ता तथा शुभेच्छुकहरूले मप्रति राख्ने चासो सरोकारको म प्रशंसा गर्छु धन्यवाद प्रकट गर्छु। तर जबसम्म महाधिवेशनको नेतृत्व चयनका सन्दर्भमा पार्टीमा छलफल भएर त्यसको समय, प्रक्रिया लगायतमा औपचारिक प्रवेश गर्दैन त्यो भन्दा अगावै यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्दा अलि हतारो र असामयिक हुन्छ कि!
एमालेमा कति पदाधिकारी रहने कस्तो कमिटी रहने भनेर त निर्णय भइसक्यो। तर यसको विधि र प्रक्रियाबारे छलफल गर्न किन ढिलो गरिएको होला त?
तपाईंले भनेजस्तै कति पदाधिकारी रहने कस्तो कमिटी रहने भन्ने त तय भयो। तर तत् सम्बन्धमा बैठक गरेर त्यसको समीक्षा गर्ने र आगामी महाधिवेशनको तयारीको पनि कुरा छ। व्यवस्थापन कमिटी बनाउनुपर्ने होला। अरू कमिटी बनाउनुपर्ने होला। त्यो किन ढिलो भएको हो मैले पनि बुझेको छैन। किनभने बैठक भएदेखि किन ढिलो भयो? के हो? कसो हो भनेर सोध्ने कुरा हुन्थ्यो। बैठक नभएको हुनाले मलाई पनि त्यसको बारेमा जानकारी छैन।
तपाईं त उपाध्यक्ष पार्टीको बैठक कहिले गर्ने भनेर पार्टी अध्यक्षसँग कुरा गर्नुभएको होला नि?
मैले यस विषयमा कुरा गरेको छैन। किनभने केहीदिन अगाडि उहाँलाई राम्रो सञ्चो छैन भनेको थाहा पाएको हुनाले बिसञ्चो भएको अवस्थामा फोन गरिहाल्नु र यस्ता कुरा सोधिहाल्नु त्यति उचित लागेन। अहिले दसैंको एउटा वातावरण छ। निश्चय पनि यस्तो महत्वपूर्ण कुरामा के भइरहेको छ भनेर पार्टी अध्यक्षलाई नसोध्ने कुरै आउँदैन। त्यो कुरा सोधिन्छ।
तपाईंहरूसँग मात्रै छलफल नगर्नु भएको हो कि,आन्तरिक छलफल गरिरहनुभएको पनि हुन सक्छ नि?
त्यस्तो कुनै आन्तरिक छलफलको जानकारी छैन। किनभने अहिले हामीले १० बुँदे सहमति गरेर अपानी जारी गरिसकेका छौं। पार्टीलाई विधि,प्रणाली सम्मत ढंगले अघि बढाउने विधान अनुसार अघि बढाउने, गुटबन्दी नगर्ने जस्ता कुराहरू हामीले अगाडि सारेका छौं। विधान महाधिवेशनमा पनि त्यही कुरा भएको थियो।
अब त्यो कुराको विपरीत गएर फेरि कसैले गुट, गुटभित्र उपगुट उपगुटभित्र पनि उपगुट सृजना गरेर कसैले आपसमा सल्लाह गरेर कसैले,र्याप्प ट्याप्प मिलाउने कुरा गर्छ भने यो त कुनै पार्टीको विकासको कुरा हुँदैन। अद्योगतितर्फ जाने कुरामात्रै हुन्छ। तर मलाई त्यस्तो कसैले गरेको जानकारी छैन।
१० बुँदे सहमतिको आधारमा जेठ २ को कार्यान्वयन गर्ने भनेर तपाईंहरू पार्टी एकताको पक्षमा उभिनुभयो। यसको कार्यान्वयन अझै हुन सकेको छैन। जेठ २ र १० बुँदे भन्ने अलमल कहिलेसम्म भइरहन्छ?
यसमा अलमल हुन नपर्ने हो। किनभने त्यो सहमति भएर त्यसपछि पार्टीको केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गरेर अन्तरपार्टी निर्देशन १२ जारी भइसकेको छ।
अपानिले देशभरिका सम्पूर्ण पार्टी कमिटी जनसंगठन कार्यकर्ता नेता सबैलाई २०७५ जेठ २ का सबै कमिटीलाई क्रियाशील तुल्याउन निर्देशन दिएको छ र कार्यान्वयनका लागि १० बुँदे सम्झौतालाई अपानिसँगै पठाइएको छ।
त्यति गरेपछि पनि जसले त्यसलाई मान्दिनँ भन्छ त्यसलाई कार्यान्वयन गर्दिनँ भन्छ, यसको अर्थ हामीले के बुझ्नपर्यो भने कतिपय मानिस यो पार्टीलाई कुनै पनि हालतमा एकताबद्ध भएर अगाडि जान नदिने पक्षमा छन्।
आउने निर्वाचनमा सम्पूर्ण पार्टी शक्तिलाई एक बनाएर निर्वाचनमा विजय हासिल गर्ने भन्दा पनि आफ्ना गुटगत धारणा पूर्वाग्रह, कटुता मनमा राखेर अघि बढ्ने पक्षमा छन्।
पार्टी जहाँसुकै जाओस् मेरो दम्भ,मेरो अहंकार,मेरो धारणामात्रै लागु हुनुपर्छ भनेर सोचिरहेजस्तो आभास हुन्छ कतिपय ठाउँमा त्यो लागु नहुँदाखेरी।
हामी २०५४ सालमा विभाजन भयौं। अनेक प्रकारका कटुता आरोप प्रत्यारोपलाई बिर्सेर २०५८ सालमा हामीले पार्टी एकता गर्यौं। तर एकता गर्दा ढिलो भइसकेको थियो। किनभने बीचमा भएको आमनिर्वाचनमा हामी पराजित भइसकेका थियौं।
हामी बहुमत ल्याएर निर्वाचन जित्ने स्थितिमा भएको राजनीतिक दल पछि परिसकेका थियौं। अहिले पनि स्थानीय र आमनिर्वाचन आउँदैछ। अनि भएको संरचना कार्यान्वयन गरेर पार्टी पंक्तिलाई एकताबद्ध गर्ने, राष्ट्रलाई बलियो बनाउने, पार्टीलाई बलियो बनाउने भएका अन्तर्विरोधलाई समाधान गर्ने विगतको कटुतालाई बिर्सिएर नयाँस्तरको एकता कायम गर्ने बाटोमा अघि बढ्यौं भने यो पार्टी जनता देश र स्वयम् हामी सबैको हितमा हुन्छ भन्ने मलाई लाग्छ।
अब कतिपय स्थानमा किन मानिसले त्यसलाई कार्यान्वयन गर्न चाहिरहेका छैनन् भन्ने कुरा हेर्दा,कतै पार्टी जहाँ सुकै जाओस् मेरो अहम पुष्टि गर्ने महत्वपूर्ण हो भन्ने कुरा कतिपय मानिसलाई लागेको छ क! त्यो त मलाई थाहा छैन। अनुसन्धान गर्नुपर्छ।
तपाईं आफैं उपाध्यक्ष हुनुहुन्छ, तपाईं नै पूर्ववत अवस्थामा नफर्किंदा तल्लो तहका कार्यकर्ताले आफूलाई असुरक्षित महसुस गर्दैनन्?
मलाई म कुन पदमा हुन्छु भन्ने कुराको चासो र चिन्ता होइन। म नेकपा एमालेको सुदूरपश्चिम प्रदेश समन्वय कमिटी छँदा त्यसको संयोजक थिएँ। पार्टी एकता भइसकेपछि म त्यसको इन्चार्ज थिएँ। त्यसकारण पार्टी कमिटीमा मेरो त्यो पद के भयो त भन्ने चासो र सरोकार हुनु स्वभाविक हो।
मलाई व्यक्तिगत रूपमा मेरो पद कहाँ जान्छ के हुन्छ म कता हुन्छु भन्ने ठूलो कुरा होइन। तर यत्रो ठूलो पार्टीको विभाजन हुनु अत्यन्त संवेदनशील र दुःखदायी अवस्था हो। हामीले १० बुँदे सहमति गरेर अपानि १२ जारी गरिसकेपछि देशव्यापी रूपमा सबै जनसंगठनमा सबै पार्टी कमिटीमा त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने मेरो धारणा हो।
त्यो कार्यान्वयन हुँदाखेरि म काम गर्छु, अर्को व्यक्ति काम गर्छ। को कहाँ पर्छ भन्ने कुरा महत्वपूर्ण होइन। किनभने कि त हामीले सहमति गर्न हुँदैनथ्यो या सहमति गरिसकेपछि पनि अपानि कार्यान्वयनका लागि जारी गर्न हुँदैनथ्यो। अनि पार्टी एउटा निर्णय र प्रणालीबाट चल्ने जुन हाम्रो स्थापित मान्यता हो नि लोकतन्त्रमा सबैले मानेको कुरा हो।
त्यो अनुसार हुनुपर्छ भन्ने मेरो धारणा हो।
तर को व्यक्ति कहाँ पर्छ भन्ने कुरालाई मात्रै सोचेर गर्ने हो भने त कसको अधिकार के हुन्छ, आफ्नो गुटको मान्छे के हुन्छ,गुटको मान्छे पर्यो कि परेन,अनि कसैले हिजो २,४ शब्द आलोचना गर्या हुनाले त्यसलाई कसरी समाप्त गर्ने,यदि कसैको मनमा यही भावना थियो भने त यो सहमति किन गरेको हो?
केही समयअघि मात्रै गोदावरीमा विधान महाधिवेशन सम्पन्न भएको छ। त्यहाँ फरक मत राख्ने मौका नदिइएको हो?
हामीले विधान महाधिवेशनको परिकल्पना पार्टीको कार्यक्रम सिद्धान्त नीति विधान निर्माण गर्नको लागि देशभरिबाट छानिएका बढीमा ८ सय प्रतिनिधि सहभागी हुने, त्यसले राष्ट्रको उन्नतिको लागि स्वाधिनताको लागि, स्वतन्त्रताको लागि पार्टीको सुदृढीकरणको लागि र देशलाई विकासको बाटोमा अगाडि लम्काएर समृद्धि हासिल गर्नको लागि आफ्नो बाटो तय गर्ने उद्धेश्यले विधान महाधिवेशन गर्ने कुरा गरेका थियौं।
तर यसपटक ६ हजार प्रतिनिधिको सहभागिता रह्यो। यस्तो स्थितिमा त्यहाँ मसिनो रूपले विश्लेष्ण गरेर कुरालाई निर्क्यौलमा लैजाने परिस्थिति भएन। समूह छलफलत भयो तर एक हजार प्रतिनिधि भएको समूहमा त्यहाँ ८० जना या १,२ सयले भाग लिएको अवस्था बन्यो। ५,७ सय प्रतिनिधि भएको ठाउँमा ३०,४० देखि ६० जनाले बोलेको देखियो।
अनि कतिपय ठाउँमा त समूहगत छलफलमा हुँदै नभएका कुरा त्यहाँ उठ्दै नउठेका कुरा समूह प्रतिवेदनमा प्रस्तुत गर्ने र भएका कुरालाई प्रस्तुतै नगर्ने स्थिति देखियो। जुन उद्धेश्यका साथ हामीले गरेका थियौं, त्यो पूर्ण उद्धेश्य हामीले हासिल गर्यौ भनेर त म भन्न सक्दिनँ तर हामीले विधान प्रतिवेदन त्यहाँबाट पारित गर्यौं।
पार्टीको पहिलो विधान महाधिवेशन भएकोले यसको महत्व पनि अवश्य पनि भयो र पार्टीले यति ठूलो समारोह गर्दा त्यसको सकारात्मक प्रभाव पनि पर्ने नै भयो, संगठनात्मक रूपमा र राजनीतिक क्षेत्रमा।
तर हामीले जुन रूपमा यसको आयोजना गर्ने भनेर नवौं महाधिवेशनमा जे सोचेर निर्णय गरेका थियौं। त्यसको संख्यात्मक दृष्टिकोणबाट र सबै प्रतिनिधिहरूको सहभागिताको लागि समय हुन सक्ने स्थितिबाट त्यो हामीले सोचेजस्तो भएन।
जुन रूपमा महाधिवेशनमा बहस हुनुपर्थ्यो त्यो भएन भन्ने हो?
बहस त भयो, हुँदै नभएको होइन। तर प्रतिनिधिहरूको संख्या यति धेरै ठूलो भयो कि नवौं महाधिवेशनबाट हामीले जसरी जे उद्धेश्यले जति संख्यामा हुनुपर्ने भनेर हामीले निर्णय गरेका थियौं। त्यो अनुसार भने हुन सकेन।
७० वर्षे उमेरहद कस्तो हुनपर्ने हो। यसको व्याख्या के हो?
जुनबेला हामीले ७० वर्षे धारणा बनायौं। त्यतिबेला हामीले सोचेको के हो भने कुनै पनि व्यक्ति ७० वर्ष उमेर पूरा भएपछि आफ्नो पदबाट अवकाश लिने हो। हामीले सोचेको त्यही हो। अब त्यसको व्याख्या कसरी हुन्छ। ७० वर्ष पूरा भएका नेता विभिन्न पदमा रहिरहेको अवस्थामा आफूलाई त्यो प्रावधान बमोजिम कसरी अगाडि सार्छन् त्यो त भोलिको दिनमा हेर्नुपर्छ।
महाधिवेशनको हलमा ७० वर्ष पुगे पनि आफ्नो कार्यकाल पूरा गर्न पाउने भनिएको थियो नि त?
अब हामीले पहिला सोचेको व्याख्या त्यस्तो होइन। मान्छेले आ-आफ्नो सुविधा अनुसार व्याख्या गर्दै जाने हो भने त जे व्याख्या गरे पनि हुन्छ।
धेरैको अनुमान के छ भने अब पार्टीमा फेरि पनि केपी ओली भन्ने छ नि ? त्यही भएर ७० वर्ष पुगे पनि आफ्नो कार्यकाल पूरा गर्न पाइन्छ भनिएको हो भनिन्छ नि?
म अहिले व्यक्तिको चर्चा गर्न चाहन्नँ। किनभने विधानअनुसार प्रत्येक व्यक्तिलाई पार्टीका विभिन्न पदमा दाबी गर्ने अधिकार छ। अब यसमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीजी जान नपाउने भन्ने भएन। उहाँ अहिले ७० वर्ष पूरा हुनुभएको छैन। त्यो त सबैको लागि खुला छ नि।
पार्टीकै शीर्ष नेताले अहिले केपी ओलीको विकल्प छैन भनिरहेका छन्। अबको कार्यकाल केपी ओली नै दोहोरिने हो?
मैले त्यस्तो सुनेको छैन। कुनै पनि व्यक्ति आफ्नो धारणा त राख्न सक्छ नि। कुनै व्यक्तिले लोकतन्त्रमा अझै जनताको बहुदलीय जनवादमा त सबै विचारको सम्मान गर्ने, कदर गर्ने, सबैले आफ्ना विचार राख्न पाउँछ। पार्टी विधि प्रणालीबाट चल्ने सर्वोपरि हितको अधिनमा आफ्ना स्वार्थ राख्ने जनताको बहुदलीय जनवादको त्यो मार्ग निर्देशन नै हो। त्यसैले कुनै पनि व्यक्तिले आफ्ना धारणा राख्न सक्ने अधिकार प्राप्त गर्छ।
अन्तमा फेरि पनि जेठ २ र १० बुदेको प्रसँग उठाएँ। १० बुँदे र जेठ २ कार्यान्वयन नहुँदै महाधिवेशन आउला जस्तो भयो नि?
अब यदि त्यस्तो भयो भने अपानि १२ कार्यान्वयन नहुने, प्रतिनिधि छनोटमा पनि देशव्यापी रूपमा जिल्ला कमिटी बैठक नभइकन हुने, सदस्यता वितरण सबैले पाउनेगरी सदस्यता नविकरण नभई आ-आफूलाई मन लागेको मान्छेलाई छानेर ल्याउने हो भने त नेतृत्वको निष्पक्ष चयन भन्ने हुँदैन। धाँधलीयुक्त हुन्छ भन्ने बुझिन्छ। त्यस्तो अवस्थामा पार्टीलाई दीर्घकालीन रूपमा धेरै ठूलो क्षति पुग्छ।
१० बुँदे र जेठ २ कार्यान्वयन नभई महाधिवेशनको प्रक्रिया थालियो भने निष्पक्ष हुँदैन भन्ने हो?
हुँदै हुँदैन नि कसरी हुन्छ। पार्टीको नेतृत्वले नै अन्तरपार्टी निर्देशन १२ जारी गरेर त्यो कार्यान्वयन गर भनेर पार्टीले देशव्यापी पार्टीका सदस्यहरूलाई निर्देशन गरेको अवस्थामा यदि त्यो निर्देशन नै नमान्ने हो भने पार्टीको प्रणाली नै के रह्यो र!
पार्टी त एउटा मान्यता, सिद्धान्त विधि र पद्धतिमा चल्छ। त्यही भएर हामी विभिन्न भूगोल, जाति र धर्मको एकै ठाउँमा छौं। हामी एक ठाउँमा रहनुको अर्थ नै सिद्धान्त विधि र पद्धतिले बाँधेको छ। यदि त्यसैलाई भंग गरिदिने हो भने त जो जता लागे पनि भयो नि। त्यसपछि त पार्टीको औचित्य नै के रहन्छ र!
त्यो अवस्थामा यहाँहरूको भूमिका के रहन्छ त?
त्यो अहिले परिकल्पना नगरौं। अहिले त सबै सदस्यले सदस्यता नविकरण गर्न पाउनेछन्। गलत मान्छेलाई सदस्यता दिइने छैन । प्रतिनिधि छनोट निष्पक्ष हुनेछ। प्रत्येक सदस्यले आफ्नो अभिमत स्वतन्त्र र निर्भयताका साथ व्यक्त गर्न पाउनेछन् भन्ने हाम्रो पार्टीको मान्यता भएको हुनाले अहिले त्यस्तै नै हुनेछ भनेर सोच्दा नै उचित हुन्छ।
तपाईं आफैं १० बुँदे सम्झौता कार्यान्वयन गर्नका लागि गठित कार्यदलको संयोजक हुनुहुन्छ,यो कति कार्यान्वयन भएको छ केही भन्न सकिन्छ?
देशका कतिपय प्रदेशमा यसको पूर्ण रूपमा कार्यान्वयन भएको छ। म कार्यान्वयन गर्ने साथीहरूलाई धन्यवाद समेत दिन्छु। किनभने त्यो कार्यान्वयन गर्ने साथीहरूमा यो पार्टीको एकता यो पार्टीलाई सशक्त बनाउने कुराको चिन्ता रहेछ।
उहाँहरू त्यसको लागि तयार हुनुहुँदो रहेछ भन्ने कुरा बुझिन्छ। तर कतिपय जिल्ला नगर,कतिपय जनसंगठनमा त्यसको कार्यान्वयन भएको छैन। कतिपय ठाउँमा त हामी यो १० बुँदे केही मान्दैनौं, हामी अपानि पनि मान्दैनौं भनेर भनेको गुनासो समेत आएका छन्। मूलभूत रूपमा धेरै ठाउँमा यसको कार्यान्वयन भएको छ।
तर कतिपय ठाउँमा कतिपय मानिस यसलाई कार्यान्वयन गर्न रुचि देखाउनु त कता हो कता यसको कार्यान्वयनमा व्यवधान सृजना गरिरहेका छन् भन्ने गुनासो आइरहेका छन्।
१० बुँदे कति कार्यान्वयन भएको छ भनेर तपाईं प्रतिशतमा भन्न सक्नुहुन्छ?
मैले प्रतिशतमा हिसाब गरेको छैन। हेरेर त्यो विश्लेषण गर्नुपर्छ। नहेरिकन प्रतिशतमा भन्नु उचित हुँदैन।