नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले १४ औं महाधिवेशनअन्तर्गत भएका पालिका (स्थानीय तह) अधिवेशनमा सभापति देउवा पक्ष बलियो रहेको पाइएको दाबी गरेको छ।
अहिलेसम्म भएकामध्ये २५० मा सभापति देउवा पक्ष, १८० मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र १६ जना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र ४९ जना भने कतै पनि नखुलेकाहरू पालिका सभापति जितेको देउवा पक्षको दाबी छ।
यद्यपी कांग्रेस निर्वाचन समितिले अहिलेसम्म कति पालिकामा चुनाव भइसक्यो र को-को सभापति भए भन्नेबारे विस्तृत जानकारी दिइसकेको भने छैन।
तर सभापति देउवा पक्षको दाबीअनुसार प्रदेश नम्बर १ को १६६ पालिकामा अधिवेशन भएकोमा सभापति देउवा पक्षले ६० पालिकामा जितेको छ भने पौडेल पक्षले ४९ पालिकामा जितेको छ र सिटौला पक्षले १३ पालिका सभापति जितेका छन्।
साथै बागमती प्रदेशमा ९९ वटा पालिकामा अधिवेशन सकिएको छ। यीमध्ये ५३ पालिकामा देउवा पक्षले जितेको छ भने ३३ पालिका पौडेल पक्षले जितेकोमा केही पालिका सभापति भने कतैतिर पनि खुलेका छैनन्।
त्यस्तै गण्डकी प्रदेशमा ८५ पालिकामा अधिवेशन भएको छ। देउवा पक्षले ३९ पालिकामा जितेको छ भने पौडेल पक्षले २७ पालिकामा जितेको स्रोतको दाबी छ।
साथै लुम्बिनी प्रदेशमा अहिलेसम्म ८८ पालिका अधिवेशन भयो। जसमा देउवा पक्षले ३५ पालिका सभापति जितेको छ। पौडेल पक्षले २९ पालिकामा सभापति जितेका छन् भने केही पालिका सभापतिहरू कतैतिर पनि खुलेका छैनन्।
कर्णालीमा ६२ पालिकामा अधिवेशन भएको छ। यहाँ ३६ पालिकामा देउवा पक्षले सभापति जितेको छ भने पौडेल पक्षले २६ पालिकामा जितेको छ। कतिपय कुन नेता निकट हुन् भन्ने खुल्न चाहेका छैनन्।
सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशमा हालसम्म १९ पालिकामा मात्रै अधिवेशन भएकोमा १८ पालिका सभापति देउवानिकट छन्। पौडेल पक्षले बझाङको एक पालिकामा मात्रै सभापति जितेको दाबी देउवा पक्षको छ।
प्रदेश नम्बर २ मा भने पालिका अधिवेशन भइसकेको छैन। अझै केही जिल्लामा क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन त्यसैले क्रियाशीलको विवरण निर्वाचन समितिले पार्टी वेबसाइटबाट सार्वजनिक गरेको छैन।
‘अहिलेसम्म सकिएका पालिका अधिवेशनबाट सभापति देउवा पक्ष नै बलियो रहेको देखाउँछ,’ देउवानिकट एक नेताले भने। कहाँ कसले जिते भन्ने आफूहरूले विवरण नै तयार पारेको ती नेताले बताए।
तर पौडेल र सिटौला पक्षले भने यहाँ उल्लेख गरेभन्दा बढी आफूहरूनिकटले पालिका सभापति जितेको दाबी गरेका छन्।
कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरेको थियो। वडा अधिवेशन गरेका अधिकांश जिल्लामा पालिका अधिवेशन भएका छन्।
अहिलेसम्म १० जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ। यीमध्ये ६ जिल्लामा पौडेल र ४ जिल्ला सभापतिमा देउवानिकटले जितेका छन्।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने भनेको छ। २१ हिमाली जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन हुने भने पनि रसुवा, डोल्पालगायत ११ जिल्लामा अझै अधिवेशन हुन सकेको छैन।