नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूसँग छलफल गर्ने भएका छन्।
पार्टीको १४ औं महाधिवेशन तयारी, सरकारमा सहभागी हुने मन्त्रीहरू छनौटलगायत विषयमा पौडेल र सिटौलाले नेताहरूसँग छलफल गर्न लागेको स्रोतको भनाइ छ।
वरिष्ठ नेता पौडेलले दिउँसो २ बजे बोहराटारस्थित निवासमा आफूनिकट नेताहरूको बैठक राखेका छन्।
साथै सिटौलाले जमलमा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन्। बैठकका लागि १३ औं महाधिवेशनमा सिटौला पक्षमा रहेका नेताहरूलाई बोलाइएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले ५ मन्त्री र एक राज्यमन्त्री बनाएका छन् बाँकी मन्त्रालय आफैँसँग राखेका छन्।
देउवाले बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका छन्।