नेपाली काँग्रेसका हेभीवेट नेताहरुको गृहनगर विराटनगर महानगरमा दिपक चापागाईंले सभापति पदमा बाजी मारेका छन्।
आइतबार सार्वजनिक विराटनगर महानगरसमितिको अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मतसहित विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेले १६५ मत प्राप्त गरे।
विजेता चापागाईं केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला पक्षका हुन् भने पराजित न्यौपाने पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। सभापति पदकै अन्य दुई मध्ये कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरेका थिए । उनीहरू दुबै जना कोइराला पक्षकै हुन्।
महानगर सभापतिका लागि कोइराला समूहका तीन जना आकांक्षी चुनावी प्रतिष्पर्धामा गएका थिए। एकै समूहका तीन जना सभापतिमा भिड्ने भएपछि पार्टी सभापति देउवा समूहले एकल उम्मेद्वारी दिएको थियो।
संस्थापन इतर समूहका तीन जना प्रतिष्पर्धामा उत्रँदा त्यसको फाइदा आफूलाई हुने अनुमान देउवा पक्षको थियो । तर, देउवा समूहको अनुमान विराटनगरमा ‘फेल’ खाएको छ। यो चुनावबाट काँग्रेसका प्रभावशाली नेताहरु डा. शेखर कोइराला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, अमृत अर्याल लगायतको गृहनगरमा कोइराला र आचार्य समुहको दबदबा फेरि कायम भएको हो।
यसैगरी , महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन्। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी बनेका छन्।