भारतको पिथौरागढमा भएको नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास समापन भएको छ। भारतको उत्तराखण्डस्थित पिथौरागढमा असोज ४ देखि सुरू भएको अभ्यास असोज १६ गते सकिएको हो।
उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० जना र भारतीय सेनाका ४०० जना फौज सहभागी भएका थिए। संयुक्त सैनिक अभ्यासमा विभिन्न सैनिक युद्धकला, अभ्यासका साथै विपद एवं कोभिड-१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भुमिका आदिका बारेमा अभ्यास गरिएको थियो भने सहभागी फौजहरुले आ-आफ्नो पेशागत अनुभवहरु समेत साटासाट गरेका थिए ।
भारतीय सेना मध्य कमाण्ड सेनापति रथी श्री एस.एस. महलद्वारा अन्तिम प्रवचन गरेको क्त कार्यक्रममा नेपाली सेनाको श्री मध्य कमाण्ड हे.क्वा.का कमाण्ड सेनापति उपरथी विनय बिक्रम राणा, नं.३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमार बाबु थापा, दुवै देशका सैनिक सहचारीहरु तथा भारतीय सेनाबाट सहभागि गणका कमाण्डिङ्ग अफिसरलगायतको उपस्थिति थियो।
नेपाली सेना र भारतीय सेना वीच सम्पन्न यस सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक शिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।