नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले २०४८ सालदेखि उच्च ओहदामा पुगेका सबैको सम्पत्ति अनिर्वाय छानबिन गर्न सरकारसँग माग गरेको छ ।
काठमाडौंको बानेश्वरस्थित युवा संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले यस्तो माग गरेको हो। युवा संघ नेपाल सचिवालय कमिटीको सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संघले उच्च ओहोदामा पुगेका सबैको सम्पत्ति छानविन गर्न माग गरेको हो ।
‘२०४८ सालपछि आजसम्म सरकारी ओहोदामा बसेका प्रधानमन्त्री, मन्त्री, सांसद, मन्त्रालयका सचिवहरू, सरकारी विभागका प्रमुखहरू, न्यायधिसहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च कर्मचारी एवं पदाधिकारीहरू, सेना, जनपद प्रहरी, शस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका उच्च पद धारण गरेका व्यक्तिहरू, महत्वपूर्ण राजनीतिक लाभका पदमा नियुक्त भएका व्यक्तिहरू, ठूला कम्पनीका ठेगेदारहरू, राष्ट्रिय स्तरमा कार्यक्षेत्र बनाई गैर सरकारी संस्था चलाईरहेकाको सम्पत्ति अनिवार्य छानबिन गर्न नेपाल सरकारसँग हाम्रो माग छ’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।