नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश १ का पहाडी जिल्लाहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ।
कांग्रेसको गाउँ तथा नगर अधिवेशनहरुको चुनावी नतिजाअनुसार पहाडी जिल्लाका अधिकांश गाउँ तथा नगरमा पौडेल पक्षधर उम्मेदवारहरुले नेतृत्व हात पारेका छन्।
केही जिल्लामा पौडेल पक्षले ‘क्लिन स्वीप’ गर्दा संस्थापन पक्ष शून्य भएको छ। ओखलढुंगामा सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्वीप’ गर्दा पौडेल पक्ष शून्य भएको छ।
तेह्रथुमका ६ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन हुँदा सबैमा पौडेल पक्षले सभापति पद हात पारेको छ। म्याङलुङ नगर सभापतिमा इन्द्रराज तुम्बाहाम्फे र वसन्तपुर नगरमा अमरबहादुर गुरुङ सभापति चुनिएका छन्।
गाउँपालिकाहरुमा आठराईमा दिलकुमार लिम्बु, फेदापमा महेन्द्र फम्बु, मेन्छ्याममा तारुकबहादुर सम्बाहाम्फे र छथर सभापतिमा रामचन्द्र भट्टराई चुनिएका छन्।
पौडेल पक्षले ‘क्लिन स्वीप’ गरेको अर्को जिल्ला संखुवासभा पनि हो। पाँच वटा नगर र पाँच वटा गाउँपालिका भएको जिल्लामा सबै पालिकामा पौडेल पक्षधर उम्मेद्वार सभापति बनेका छन्।
नगरहरुमध्ये मादी नगर सभापतिमा यादवचन्द्र खड्का, चैनपुरमा शंकरमान कँडेल, पाँचखपनमा बिष्णुकुमार श्रेष्ठ , धर्मदेवीमा बद्री घिमिरे र खाँदबारी नगर नगर सभापतिमा गणेश कार्की सभापति चयन भएका छन्।
गाउँहरुमध्ये चिचिला गाउँपालिका सभापतिमा दिनेशकुमार राई, भोटखोलामा पासाङ खम्बा, सिलिचोङमा भूपालमान मेवाहाङ, सभापोखरीमा जितेन्द्र लिम्बु र मकालु गाउँपालिका सभापतिमा ओङ्दी शेर्पा चयन भएका छन्।
धनकुटामा पनि पौडेल समूहले अधिकांश पालिकामा नेतृत्व हात पारेको छ। ७ स्थानीय तहमध्ये ४ वटामा पौडेल र दुई वटामा देउवा समूह नेतृत्व हात पारेका छन्। एउटा पािलकामा अधिवेशन हुनै सकेको छैन।
धनकुटाको साँगुरीगढी गाउँपालिका सभापतिमा नेपालधन राई र छथर जोरपाटी गाउँपालिका सभापतिमा छत्र सुब्बा छानिएका छन्। उनीहरु दुवै पौडेल समूहका हुन्।
यसैगरी महालक्ष्मी नगर सभापति ध्रुबराज राय र चौविसे गाउँ सभापति गुणराज राई पनि पौडेल समूहकै हुन्। पाख्रिवास नगरका प्रेम भण्डारी र सहिदभूमि गाउँ सभापति दिपेश राई देउवा पक्षका हुन्। अधिवेशन स्थगित भएको धनकुटा नगरपालिकाका सभापतिका दुवै आकांक्षी देउवा समूहका हुन्।
देउवा पक्षले सबै पालिका जितेको जिल्ला ओखलढुंगा बनेको छ।
सिद्धिचरण नगरपालिकामा प्रेमराज गुरुङ, खिजिदेम्बा गाउँपालिकामा रामकुमार सुनुवार, चिशंखुगढीमा गोपालमान थापा, मानेभन्ज्याङमा देवबहादुर पुलामी, सनुकोसीमा विष्णु खड्का सभापतिमा निर्वाचित भएका छन्।
लिखुमा कुमार सुवेदी, मोलुङमा गोपीकृष्ण कार्की र चम्पादेवीमा विष्णु पुलामी मगर सभापतिमा चयन भएका छन्।