नेपाली कांग्रेसको गाउँ/नगरको अधिवेशनबाट अर्घाखाँचीमा पार्टी सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ।
६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा शनिबार निर्वाचन भएका ५ वटा पालिकामध्ये पाणिनी गाउँपालिकाको सभापतिमा विजयी तुल्सी पौडेलले कुनै समूहमा नरहेको दाबी गरेका छन्।
अरु ४ वटा पालिकामा भने रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भएका छन्।
आइतबार निर्वाचन भइरहेको शितगंगा नगरपालिकामा मोहन पन्थी निर्वाचित भए भने अर्घाखाँचीमा कांग्रेसको संस्थापन पक्षको उपस्थिती शून्य हुने छ।
शितगंगामा सभापतिका उम्मेदवार पन्थी रामचन्द्र पौडेल समूहका मानिन्छन् भने मोती बेल्वासे देउवा समूहका मानिन्छन्। उक्त पालिकामा आइतबार निर्वाचन भइरहेको छ।
मतपरिणामअनुसार सन्धिखर्क नगरपालिकामा पौडेल समूहका बाबुराम भुसाल सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै भुमिकास्थान नगरपालिकाको सभापतिमा निर्वाचित खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकाका प्रकाशराज पन्थी र मालारानी गाउँपालिकाका सभापतिमा निर्वाचित शोभाखर खनाल सबै पौडेल समुहका हुन्।
सन्धिखर्क र भूमिकास्थानमा निर्वाचन भएपनि छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयन भएको कांग्रेस अर्घाखांचीले जनाएको छ।
देउवा समूहबाट सन्धिखर्कमा लिलाधर बस्याल र भुमिकास्थानबाट खिमकुमार श्रेष्ठले सभापतिमा उम्मेदवारी दिएका थिए।
कांग्रेस नेतृ पुष्पा भुसाल र मानबहादुर विकको गृह जिल्ला रहेको अर्घाखाँचीको गाउंँ/नगर अधिवेशनको परिणाम हेर्दा पौडेल समूह बलियो देखिएको कांग्रेस नेताहरुले बताएका छन्।