संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्। सो अवसरमा उनीहरूबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।
भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो । दुवै देशका विदेशमन्त्रीले विगतका सहमतिहरू कार्यान्वयन गर्न सहमति पनि जनाएको उक्त नियोगले जनाएको छ।
शनिबार नै मन्त्री खड्काले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला शहिदसँग भेटवार्ता गरे। भेटमा मन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घमा नेपालका प्राथमिकता, विश्व शान्ति, सुरक्षा, विकास, मानवअधिकार, राष्ट्रसङ्घीय शान्ति स्थापनाकार्य तथा अल्पविकसित देशहरूका निम्ति विशेष सहयोगबारे छलफल गरे। मन्त्री खड्काले महासभाका अध्यक्षलाई नेपालबाट पूर्ण समर्थन हुने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रत्युत्तरमा अध्यक्ष शहिदले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसङ्घमा आफ्ना प्राथमिकताबारे चर्चा गर्दै आफूलाई अध्यक्षमा नेपालबाट समर्थन भएकामा त्यसको सराहना गरे।
यसअघि परराष्ट्रमन्त्री खड्काले शुक्रबार यूएनको ‘पिस अपरेशन विभाग’ का उपमहासचिव जिन–पियरे लाक्वा र कुवेतका परराष्ट्रमन्त्री शेख अहमद नासिर अल–मोहमद अलसवाहसँग भेटवार्ता गरे ।
मन्त्री खड्काले यूएनको शान्ति सेनातर्फ यूएन मुख्यालय र स्थलगत रुपमा नेपालको उच्च तहमा सहभागिता बढाउन आग्रह गरेका छन् । साइडलाइन भेटवार्ताको क्रममा उनले लाक्वालाई शान्ति मिसनमा नेपाली सुरक्षा संख्यालाई बढाउन पनि आग्रह गरेका थिए ।
न्यूयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार मन्त्री खड्काले उक्त अवसरमा शान्ति सैनिक पठाउने सम्बन्धमा नेपाल र यूएनले सहकार्य गरेर अहिलेको अवस्थाभन्दा अझै बलियो बनाउँदै लानुपर्ने उल्लेख गरे ।
अर्को साइडलाइन वार्तामा खड्काले कुवेतका परराष्ट्रमन्त्री अलसवाहसँग कुराकानी गरे । उक्त भेटमा दुबै मन्त्रीहरुले दुई मुलुकका साझा चासोबारे कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक कामदारको सहयोगबाट व्यापार, पर्यटन र लगानीको भूमिका खेल्ने विषयमा पनि कुराकानी भएको थियो । दुबै मन्त्रीहरुले बाँकी रहेका सम्झौतालाई अघि बढाउनुको साथै नजिक रहेर उच्चस्तरीय भ्रमणको आदान–प्रदानसहित सहकार्य र समन्वयन गरेर काम गर्ने विषयमा सहमति भएको छ ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा शनिबार साँझ रात्रिभोजको आयोजना गरेको उक्त नियोगले जनाएको छ।
मन्त्री खड्काले सोमबार नेपालको तर्फबाट ७६ औं महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।