गृहमन्त्री बालकृष्ण खाण उत्तरी गोरखा पुगेर फर्केका छन्।
पहिरोले बाटो भत्केपछि उत्तरी गोरखामा खाद्यान्नलगायतको आपूर्ति बन्द छ।
उनले छिट्टै बाटो मर्मत गर्ने र खाद्यान्न ढुवानीलगायतमा सरकारले सहयोग गर्ने प्रतिवद्धता स्थानीय बासिन्दासँग गरेका थिए।
चुमनुब्री गाउँपालिका वडा नम्बर ६ को सिप्चेतमा आज गृहमन्त्री खाण पुगेका थिए। चुम सिप्चेत मानखाङ गुम्बा उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए।
उनलाई स्थानीय बासिन्दाले बाटो मर्मत गरिदिन र खाद्यान्न अभाव हुने देखिएकोले पहल गरिदिन आग्रह गरेका थिए।
मनास्लु पदर्मागअन्तर्गत विभिन्न ठाउँमा बाटो र पहिरोले पुलहरूमा क्षति पुर्याएकोले सरकारले सहयोग गर्नुपर्ने स्थानीयको भनाइ थियो।
उनले हेलिकप्टरबाट भए पनि खाद्यान्न ढुवानी गरिने बताएका थिए। वडा नम्बर ६ का वडाध्यक्ष लोप्साङ लामाले त्यहाँका जनताले भोगिरहेका समस्याबारे गृहमन्त्री खाणलाई सुनाएका थिए।
उनले सञ्चार, खाद्यान्न र बाटोको मुख्य समस्यामा जनता रहेको बताएका थिए।