नेपाली सेनाले ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ सञ्चालन गरेको छ।
जंगी अड्डामा सञ्चालन हुने दुई दिने कार्यक्रमको आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव, जङ्गी अड्डाका पि.एस.ओज रथीबृन्द, सबै कमाण्डका कमाण्ड सेनापतिलगायत उपस्थित थिए।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री तथा रक्षामन्त्री देउवाले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनाको रणनीतिक तहमा सञ्चालन हुने यस किसिमका अन्तर्क्रिया र छलफलले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको विश्लेषण गर्दै सम्बन्धित विषयमा साझा बुझाइ निर्माण गरी ती चुनौतीको सामना गर्न समय-सान्दर्भिक प्रतिकारात्मक उपायको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने कुराको विश्वास व्यक्त गरे।
साथै, नेपाली सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालन गर्न योजना गरेका दीर्घकालीन महत्वका कार्यमा स्रोतको सुनिश्चितता गर्न नेपाल सरकारको हरसम्भव प्रयास रहने समेत जानकारी गराएका थिए।
सोही क्रममा प्रधानसेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेश अक्षरस: पालना गर्न कटिबद्ध रहेको तथा प्राप्त जिम्मेवारी पूर्णरूपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहनेछ भन्ने विश्वास व्यक्त गरे।
सोही कार्यक्रमका नेपाली सेना र रक्षा मन्त्रालयको तर्फबाट प्रधान सेनापति र रक्षा सचिवबीच कार्य सम्पादन सम्झौता समेत भएको थियो।