बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी सङ्घीय राजधानी बनाउनुपर्ने बताएकी छिन्।
जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभालाई सम्बोधन गर्दै उनले मकवानपुर र चितवनलाई जोडेर सङ्घीय राजधानी र प्रदेशको राजधानी काठमाडौं बनाउनुपर्ने बताइन्।
सङ्घीय राजधानी काठमाडौँ अव्यवस्थित बनेको भन्दै उनले यहाँका दुई जिल्ला जोडेर व्यवस्थित राजधानी बनाउन सकिनेमा जोड दिइन्।
काठमाडौँ प्रदेशको राजधानी हुँदा यहाँका जिल्लालाई पायक पर्ने उनको भनाइ थियो। चितवनमा विकासको प्रचुर सम्भावना रहेको भन्दै उनले व्यवस्थित सहर बनाउन सुझाव दिइन्। मुख्यमन्त्री शाक्यले कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै यसका विरुद्ध लड्नका लागि सरकारी संयन्त्र तयार रहेको बताइन्।
सामाजिक विकासमन्त्री विजय सुवेदीले गुरुयोजना बनाएर जिल्लाको विकासमा जुट्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रमुख जिल्ला अधिकारी आशमान तामाङलगायतले बोलेका थिए। रासस