प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाएका छन्।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।
अनेरास्ववियूको नयाँ नेतृत्वको सपथ ग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसविरूद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक-पटक दोेहोर्याए।
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काममात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे।
उनले भने, ‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईंहरूले भण्डाफोर गर्नुपर्छ र मैले अस्ति बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ। एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यवहार होस् र त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहार होस् भन्ने जनता चाहन्छ। शान्तिपूर्ण ढंगले जीवनयापन गर्न चाहन्छ। तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन। जनता भोलि प्रतिवादमा निस्कन्छ। अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन। सबै चुप लागेर मुकदर्शक भएर हेर्छन्। जनतालाई सरकारले दुःख दिनु हुँदैन। लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै होइन। जनतालाई छकाउने प्रणाली होइन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो। सरकारले त जनताको अधिकार सुरक्षा गर्नुपर्ने ठाउँमा जनताको अधिकार खोसेर, जनतालाई दुःख दिएर, कानुनी ढंगले दुःख दिएर, अमानवीय ढंगले दुःख दिएर कुनै लोकतान्त्रिक आचारण भएन। हाम्रो आपत्ति त्यसमा हो।’
अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए।
उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरूले अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए।